काठमाडौँ – सङ्घीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक बज बिहान ११ बजेका बस्दैछ । आजको बैठकमा आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेटमाथि नै छलफल सुरु हुनेछ । बैठकमा आगामी आर्थिक वर्षको राजस्व र व्ययको वार्षिक अनुमान (बजेट) माथि सामान्य छलफल प्रारम्भ हुनेछ ।
साथै विभिन्न विधेयक प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको छ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८३/८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसपछि बजेटमाथिको सामान्य छलफल सुरु हुनेछ । छलफलका क्रममा उठेका प्रश्नहरूको जवाफ अर्थमन्त्री वाग्लेले दिने कार्यसूची छ । व्यवस्थापन कार्यअन्तर्गत अर्थमन्त्री वाग्लेले विभिन्न महत्त्वपूर्ण विधेयक सदनमा प्रस्तुत गर्ने कार्यक्रम छ । उनले ‘विनियोजन विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्नुका साथै उक्त विधेयक सदनमा पेस गर्नेछन् ।
यसैगरी, ‘राष्ट्र ऋण उठाउने विधेयक, २०८३’ तथा ‘नेपाल राष्ट्र बैंक (तेस्रो संशोधन) विधेयक, २०८३’ प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव राख्दै ती विधेयक पनि संसद्मा पेस गर्ने कार्यसूची रहेको छ । बैठकमा अन्य मन्त्रालयसँग सम्बन्धित विधेयक र महासन्धीसम्बन्धी प्रस्तावसमेत पेस हुनेछन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्कराज अधिकारीले राष्ट्रिय सभाबाट उत्पत्ति भएको ‘पर्यटन विधेयक, २०८२’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । त्यसैगरी, युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षण सम्बन्धी महासन्धी, १९४७ (नम्बर ८१)’ र ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नम्बर २९’ सदनमा पेस गर्ने कार्यसूची रहेको संसद्का महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिएका छन् । यस्तै, आजै राष्ट्रिय सभाअन्तर्गतका सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक पनि बस्दैछ ।




प्रतिक्रिया दिनुहोस्