काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्री नियुक्त भएका छन् । कांग्रेस संसदीय दलको निर्णयअनुसार मुख्यमन्त्री कमलबहादुर शाह ले सोमबार आर्थिक मामिला मन्त्रीमा विक्रमसिंह धामी, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रीमा मानबहादुर रावल तथा सामाजिक विकास मन्त्रीमा बेलबहादुर रानामगर लाई नियुक्त गरेका छन् । यस्तै, आर्थिक मामिला मन्त्रालयको राज्यमन्त्रीमा जुना दानी तथा सामाजिक विकास मन्त्रालयको राज्यमन्त्रीमा मधु भारती नियुक्त भएका छन्।
मन्त्रिपरिषद् पुनर्गठनसँगै बहादुर थापा, मेघराज खड्का, शिवराज भट्ट पदमुक्त भएका छन् । त्यसैगरी राज्यमन्त्रीद्वय सरस्वती खड्का र प्रकाश बम पनि सरकारबाट बाहिरिएका छन् । नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीहरूको शपथ ग्रहण कार्यक्रम केही समयपछि हुने जनाइएको छ । कांग्रेसभित्र लामो समयदेखि चलिरहेको शक्ति सन्तुलन र मन्त्री हेरफेरको बहसबीच प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको हो ।




प्रतिक्रिया दिनुहोस्