महेन्द्रनगर – कञ्चनपुरको बेदकोट नगरपालिका–३ दैजीस्थित महेन्द्रराजमार्गमा सोमबार दिउँसो ईभी भ्यान दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगरतर्फ जाँदै गरेको सु.प.प्र.०२–००१ ज ४९६ नम्बरको ईभी भ्यान दिउँसो करिब साढे ३ बजे अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ । दुर्घटनाका बेला भ्यानमा चालकसहित १७ जना सवार रहेको र तीमध्ये १३ जना घाइते भएको जनाइएको छ। घाइतेहरूलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल, महेन्द्रनगर पठाइएको छ। दुर्घटनापछि चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनामा घाइते हुनेहरूमा कृष्णपुर नगरपालिका–९ पिपरिया, कञ्चनपुरका ४३ वर्षीय पुष्करराज गिरी, बेदकोट नगरपालिका–१० नयाँगाउँका २० वर्षीय जीवनसिंह कडाल, टीकापुर नगरपालिका–९ खैरीफाटा, कैलालीकी ४५ वर्षीया राधा देवी शाह, धनगढी उपमहानगरपालिका–५ हसनपुरकी २५ वर्षीया सम्झना सिंह तथा धनगढी–४ उत्तरबेहडीकी ६१ वर्षीया सरस्वती देवी कुँवर रहेका छन् । यस्तै, धनगढी–६ हसनपुरकी ५५ वर्षीया विष्णु सिंह, सोही स्थानकी १७ वर्षीया आशिका कुँवर, १६ वर्षीया पुष्पा बोहरा, दार्चुलाको महाकाली नगरपालिका–१ फापरीका ६० वर्षीय गजेन्द्र सिंह कुँवर, सोही स्थानकी ३२ वर्षीया सुमित्रा कुँवर, डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बडमकी ५५ वर्षीया ईश्वरी देवी भुल, उनका २२ वर्षीय छोरा सुनिल भुल तथा अजयमेरु गाउँपालिका–६ कानाकोटका २८ वर्षीय पुष्पराज पन्त घाइते भएका छन् । प्रहरीले दुर्घटनाको कारणबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्