काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आजदेखि प्रदेशका अधिवेशन पनि सुरु गर्दै छ । जिल्लामा नयाँ नेतृत्व चयन गरेको रास्वपा आजदेखि प्रदेश अधिवेशनमा होमिन थालेको हो । रास्वपाले आज बिहान बागमती प्रदेशको अधिवेशन उद्घाटन गरी प्रदेश अधिवेशन सुरु गर्दै छ । अधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछानेले गर्नेछन् । बागमतीपछि अन्य प्रदेशको अधिवेशन सुरु हुनेछ । प्रथम राष्ट्रिय महाधिवेशनको तयारी स्वरूप सुरु गरेको जिल्ला अधिवेशन ५६ जिल्लामा सम्पन्न गरेको छ । देशभरका ७७ जिल्लामध्ये बाँकी १२ जिल्लामा विविध कारणवश रोकिएको निर्वाचन प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको रास्वपाले जनाएको छ ।
रास्वपा केन्द्रीय निर्वाचन विभागका प्रमुख भुवन केसीले १२ जिल्लामा निर्वाचन प्रक्रिया जारी रहेको र एक जिल्लामा अधिवेशन स्थगित भएको तथा पाँच जिल्लामा अझै अधिवेशन हुन बाँकी रहेको जानकारी दिए । रास्वपाले पहिलो महाधिवेशनको तयारी स्वरूप जेठ २३ गतेदेखि देशभर जिल्ला अधिवेशन सुरु गरेको थियो । रास्वपाले पहिलो महाधिवेशनलाई संस्थागत विकास र वैकल्पिक राजनीतिक शक्तिका रूपमा आफूलाई थप सुदृढ बनाउने अवसरका रूपमा लिएको जनाएको छ । पार्टीको प्रथम महाधिवेशन आगामी असार ७ देख ९ सम्म चितवनमा गर्ने तालिका सार्वजनिक भइसकेको छ ।




प्रतिक्रिया दिनुहोस्