काठमाडौं — गृहमन्त्री पदबाट राजीनामा दिएका सुधन गुरुङ पुनः गृहमन्त्रीमा नियुक्त भएका छन्। उनको पद तथा गोपनीयताको शपथ आज दिउँसो ३ बजे राष्ट्रपतिको कार्यालय शीतलनिवासमा हुने प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ । व्यापारीसँग व्यापारिक साझेदारी रहेको विषय सार्वजनिक भएपछि गुरुङ विवादमा तानिएका थिए। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको थुनामा रहेका व्यापारी दीपक भट्टसँग सम्बन्धित लिबर्टी माइक्रो इन्स्योरेन्स र स्टार माइक्रो इन्स्योरेन्समा सेयर खरिद गरेको विषय उठेपछि उनीमाथि राजनीतिक तथा सार्वजनिक दबाब बढेको थियो ।
सेयर खरिदमा प्रयोग भएको रकमको स्रोतबारे प्रश्न उठेपछि गुरुङले आफूले सापटी लिएर करिब ५० लाख रुपैयाँ बराबरको लगानी गरेको दाबी गर्दै आएका थिए। विवाद चुलिएपछि उनले वैशाख ९ गते गृहमन्त्री पदबाट राजीनामा दिएका थिए। उनी त्यसबेला २६ दिन मात्रै गृहमन्त्रीको जिम्मेवारीमा रहेका थिए । यस विषयमा छानबिन गर्न मन्त्रिपरिषद्को वैशाख २८ गतेको बैठकले उच्च अदालतका पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेको थियो। समितिमा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युतमणि नेउपाने सदस्य थिए । समितिलाई सार्वजनिक रूपमा उठेका आरोपको अध्ययन गरी १५ दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो । पछि समय अपुग भएपछि पाँच दिन म्याद थप गरिएको थियो । समितिले अध्ययनपछि गुरुङविरुद्ध उठेका आरोप पुष्टि हुन नसकेको निष्कर्ष निकालेको जनाएको छ । प्रतिवेदनमा गुरुङका सेयर, चल–अचल सम्पत्ति तथा आर्थिक विवरण अध्ययन गर्दा गैरकानुनी सम्पत्ति आर्जन पुष्टि नभएको उल्लेख गरिएको छ । ४५ पृष्ठको प्रतिवेदनले सम्पत्ति विवरणमा देखिएका केही त्रुटिलाई व्यक्तिगत कमजोरीभन्दा राज्यको अभिलेख तथा प्रणालीगत कमजोरीसँग जोडेर व्याख्या गरेको बताइएको छ । छानबिन समितिको प्रतिवेदनपछि सरकारले गुरुङलाई पुनः गृहमन्त्रीको जिम्मेवारी दिएको हो ।




प्रतिक्रिया दिनुहोस्