काठमाडौं — उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले राजदरबार हत्याकाण्डसँगै मदन भण्डारी मृत्यु प्रकरण को पनि निष्पक्ष छानबिन हुनुपर्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले नवनियुक्त गृहमन्त्री सुधन गुरुङ ले राजदरबार हत्याकाण्डको छानबिन गर्ने प्रतिबद्धता जनाएको विषयलाई स्वागतयोग्य भएको बताए।
घिसिङले राजदरबार हत्याकाण्डको अनुसन्धान केवल औपचारिक रूपमा नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूको सहभागितामा गरिनुपर्ने धारणा राखे। उनले घटनामा विभिन्न शक्ति केन्द्रहरूको भूमिका रहेको भन्ने चर्चा भइरहेकाले व्यापक र विश्वसनीय अनुसन्धान आवश्यक रहेको बताए । उनले राजदरबार हत्याकाण्ड मात्रै नभई मदन भण्डारीको मृत्यु प्रकरण, पूर्वप्रधानमन्त्री सुशील कोइराला को मृत्युबारे उठेका प्रश्न तथा अन्य राजनीतिक व्यक्तित्वसँग सम्बन्धित घटनाहरूको पनि सत्यतथ्य सार्वजनिक गर्नुपर्ने माग गरे ।
त्यसैगरी उनले निर्मला पन्त हत्या प्रकरण को दोषी अझै पहिचान हुन नसकेको उल्लेख गर्दै सरकारले वास्तविकता सार्वजनिक गर्नुपर्ने बताए। साथै टिकापुर घटना पछि गठन गरिएको लाल आयोगको प्रतिवेदन हालसम्म सार्वजनिक नगरिएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न सरकारसँग आग्रह गरे । उनको भनाइ थियो, “राजदरबार हत्याकाण्डको छानबिन प्रभावकारी, स्वतन्त्र र विश्वासिलो ढंगले हुनुपर्छ। यदि छानबिन सीमित दायरामा गरियो भने त्यसको कुनै अर्थ हुँदैन।”




प्रतिक्रिया दिनुहोस्