Skip to content

रास्वपा गण्डकी सभापतिमा नवीन त्रिपाठी विजयी

काठमाडौँ – सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) गण्डकी प्रदेश समिति सभापतिमा नवीन त्रिपाठी निर्वाचित भएका छन् । सभापति पदमा उम्मेवादी दिएका अन्य तीन उम्मेदवारलाई पछि पार्दै त्रिपाठी विजयी भएका हुन्। रास्वपाको विधानमा सभापति निर्वाचित हुन कुल मतदानको ५१ प्रतिशत मत पाउनुपर्ने व्यवस्था छ । त्रिपाठीले पहिलो चरणमै उक्त मत पाएर निर्वाचित भएका हुन्  । शुक्रबार शुरु भएको रास्वपाको पहिलो गण्डकी प्रदेश अधिवेशनमा सभापति पदका लागि मात्र ४ जनाले उम्मेदवारी दिएका थिए ।

त्रिपाठीले २३४ मत पाएर निर्वाचित भएको रास्वपा गण्डकीका पूर्व महामन्त्री अशोक खड्काले जानकारी दिए । त्रिपाठी यसअघि प्रदेश समिति महामन्त्री थिए । सभापति पदमा दोहोरिन चाहेका प्रतिनिधी सभा सांसद राजन गौतमले १८२ मत पाए भने सभापतिकै उम्मेदवार माधव पनेरुले ११ मत र डा. हरि कार्कीले जम्मा २ मत पाएका थिए । शुक्रबार राती भएको मतदानमा कुल ७८० अधिवेशन प्रतिनिधी रहे पनि ४३७ जनाले मतदान गरेका थिए ।

रास्वपाको विधान अनुसार प्रदेश समिति ४७ सदस्यीय हुन्छ । जसमा ११ जिल्ला सभापति पदने सदस्य रहने व्यवस्था छ भने २ जना सदस्य सभापतिले मनोनित गर्नेछ । प्रदेश समितिमा सभापतिसहित ३४ जना निर्वाचित हुने व्यवस्था छ । प्रदेश सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको भने मतगणना जारी रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्