काठमाडौं – बर्दियामा ट्रकको ठक्करबाट सशस्त्र प्रहरी बलका एक जना सहायक हवल्दारको मृत्यु भएको छ भने एक जना प्रहरी जवान घाइते भएका छन् । गुलरिया–नेपालगञ्ज सडकखण्ड अन्तर्गत लालपुर क्षेत्रमा बा.प्र. ०३–००१ ख १४१२ नम्बरको ट्रकले ठक्कर दिँदा बाँसगढी नगरपालिका–५ मोतिपुरका ३५ वर्षीय सशस्त्र प्रहरी सहायक हवल्दार तिलक कँडेलको मृत्यु भएको हो। उनलाई आज बिहान करिब साढे ५ बजे अस्पताल पुर्याइएलगत्तै चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी तथा डीएसपी रेशम बोहराले जानकारी दिए । दुर्घटनामा सशस्त्र प्रहरी जवान दीपक कुमार जङ शाह घाइते भएका छन्। बाँसगढी नगरपालिका–८ ककौराका ३५ वर्षीय शाहलाई थप उपचारका लागि बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजमा रिफर गरिएको छ ।
मृतक कँडेल र घाइते शाह दुवै फर्वाड अपरेटिङ बेस (एफओबी) गणेशपुर, बर्दियामा कार्यरत थिए । प्रहरीका अनुसार अवैध रूपमा भारततर्फ लैजान लागिएका दुई वटा भैंसी र एउटा पाडोलाई नियन्त्रणमा लिएर भन्सार कार्यालय गुलरियातर्फ लैजाने क्रममा नेपालगञ्ज–गुलरिया जोड्ने हुलाकी सडकखण्डको लालपुरमा ट्रकले ठक्कर दिएको थियो । दुर्घटनामा ट्रक चालक मकवानपुरको बागमती गाउँपालिका–५ समरीका ४० वर्षीय निरन्जन दर्जी पनि घाइते भएका छन्। उनको बर्दिया जिल्ला अस्पताल, गुलरियामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट नियन्त्रणमा लिइएका पशुमध्ये एउटा भैंसी समेत मरेको जनाइएको छ ।




प्रतिक्रिया दिनुहोस्