धनगढी – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ का वडा सभापति सुरेश बोहराले क्रसर उद्योगसँग आर्थिक सहयोग मागेको पत्र सामाजिक सञ्जालमा भाइरल भएपछि विवाद चर्किएको छ। पत्र सार्वजनिक भएसँगै पार्टीभित्र र बाहिर चर्चा सुरु भएको हो । भाइरल पत्रमा रास्वपाको आगामी केन्द्रीय महाधिवेशनका लागि आर्थिक सहयोगस्वरूप ३० हजार रुपैयाँ मागिएको उल्लेख छ। तर वडा सभापति बोहराले उक्त पत्र आफ्नो भए पनि त्यसमा उल्लेख गरिएको विषयवस्तु ‘प्राविधिक गल्ती’ का कारण परेको दाबी गरेका छन् । उनका अनुसार वास्तविक उद्देश्य क्षेत्रको बिग्रिएको बाटोमा ग्राभेल गर्ने र युवाहरूका लागि खेलकुद सामग्री व्यवस्थापन गर्ने थियो । ‘हाम्रो क्षेत्रमा बाटो बिग्रिएको थियो, ग्राभेल गर्नुपर्ने अवस्था थियो। क्रसर सञ्चालकसँग कुरा गर्दा बाटो बनाउन र खेलकुद सामग्रीका लागि ३० हजार रुपैयाँ सहयोग गर्ने कुरा भएको थियो। म गौशालाको काममा व्यस्त थिएँ, साथीलाई पत्र तयार गर्न भनेको थिएँ। पत्रमा गल्तीवश “अधिवेशनका लागि” भनेर लेखिएछ र मैले नहेरी हस्ताक्षर गरें,’ बोहराको भनाइ छ । उनले पछि पत्रमा गलत विवरण रहेको थाहा पाएपछि सम्बन्धित क्रसर उद्योगमा पुगेर पत्र फिर्ता ल्याई च्यातिदिएको दाबी गरेका छन्। तर त्यसअघि नै कसैले पत्रको फोटो खिचेर सामाजिक सञ्जालमा सार्वजनिक गरिदिएको उनको भनाइ छ।
बोहराले आफू महाधिवेशन प्रतिनिधिसमेत नरहेको र पार्टीको नाममा चन्दा उठाउने कुनै उद्देश्य नरहेको स्पष्ट पारेका छन् । यता रास्वपा सुदूरपश्चिम प्रदेश सभापति इन्जिनियर प्रकाश विष्टले घटनालाई गम्भीर रूपमा लिएको बताएका छन् । उनले पार्टीले कुनै व्यक्ति वा संस्थासँग आर्थिक सहयोग नलिएको र नमागेको स्पष्ट पार्दै भने, ‘महाधिवेशनका लागि केन्द्रीय कार्यालयबाटै बजेट व्यवस्थापन भएको छ। पार्टीको नाम प्रयोग गरेर कसैले यस्तो गरेको पाइए कारबाहीको दायरामा ल्याइनेछ ।’ प्रदेश नेतृत्वले घटनाबारे थप बुझ्ने र अनुशासन उल्लङ्घन भए आवश्यक कारबाही गर्ने जनाएको छ ।




प्रतिक्रिया दिनुहोस्