Skip to content

बैतडीमा विद्यालयभित्रै छात्रामाथि यौन दुर्व्यवहारको आरोप, शिक्षक बर्खास्त

बैतडी – बैतडीको दशरथचन्द नगरपालिका–६ थलीगडास्थित कालिका माध्यमिक विद्यालयमा अध्ययनरत एक छात्रामाथि विद्यालयभित्रै शिक्षकले यौन दुर्व्यवहार गरेको आरोप लागेको छ । घटनापछि विद्यालय प्रशासनले आरोपित शिक्षकलाई बर्खास्त गरेको छ भने प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ । जानकारी अनुसार घटना करिब एक साताअघि भएको हो। कक्षा १० मा अध्ययनरत छात्रा कक्षाकोठामा एक्लै रहेको अवस्थामा राहत कोटामा कार्यरत शिक्षक नरेशबहादुर चन्दले दुर्व्यवहार गरेको आरोप पीडित पक्षले लगाएको छ ।

घटनापछि छात्राले परिवारलाई जानकारी गराएकी थिइन् । त्यसपछि विद्यालय प्रशासन र सरोकारवाला निकायबीच छलफल भएको बताइएको छ । छलफलका क्रममा यसअघि पनि सम्बन्धित शिक्षकविरुद्ध गुनासो आउने गरेको तर विद्यालय प्रशासनले मिलापत्रमार्फत विषय टुंग्याउँदै आएको आरोपसमेत उठेको बताइएको छ । विद्यालयका प्रधानाध्यापक पदमराज लेखकले घटनालाई गम्भीर रूपमा लिँदै आरोपित शिक्षकलाई कारबाहीस्वरूप विद्यालयबाट बर्खास्त गरिएको जानकारी दिएका छन् । साथै घटनाबारे जिल्ला प्रहरी कार्यालय बैतडीमा उजुरी दर्ता गरिएको पनि उनले बताए । यता जिल्ला प्रहरी कार्यालय बैतडीले पीडित पक्षबाट उजुरी प्राप्त भइसकेको र आरोपित शिक्षक पनि सम्पर्कमा आइसकेकाले कानुनी प्रक्रिया अघि बढाइएको जनाएको छ । प्रहरीका अनुसार घटनाको अनुसन्धान जारी छ र अनुसन्धानबाट पुष्टि हुने तथ्यका आधारमा प्रचलित कानुनअनुसार आवश्यक कारबाही गरिनेछ ।

प्रतिक्रिया दिनुहोस्