Skip to content

उपप्रमुख महर्जनको सक्रियता : सीप विकासमार्फत महिलालाई आत्मनिर्भरतातर्फ अघि बढाउने अभियान

ललितपुर – महालक्ष्मी नगरपालिका वडा नं. ९ को आर्थिक सहयोग तथा श्री कृष्ण टोल विकास संस्थाको आयोजनामा सञ्चालित १६ दिने ‘डल कुशन बनाउने एड्भान्स तालिम’ सम्पन्न भएको छ । समापन कार्यक्रममा महालक्ष्मी नगरपालिकाकी उपप्रमुख लक्ष्मी महर्जन सहभागी भई प्रशिक्षार्थीहरूलाई शुभकामना व्यक्त गरेकी छन् । कार्यक्रमलाई सम्बोधन गर्दै उपप्रमुख महर्जनले सीप, सिर्जनशीलता र आत्मनिर्भरताको माध्यमबाट महिला तथा युवाहरूलाई उद्यमशीलतातर्फ अग्रसर गराउने यस्ता तालिमहरू अत्यन्त महत्वपूर्ण रहेको बताइन् । उनले तालिमबाट हासिल गरेको ज्ञान र सीपलाई व्यवहारमा उतार्दै सहभागीहरू सफल उद्यमी बन्न सक्ने विश्वास व्यक्त गरिन् ।

उपप्रमुख महर्जनले पछिल्लो समय नगरपालिकाले स्थानीय स्तरमा सीपमूलक तथा आयआर्जनसँग जोडिएका कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको उल्लेख गर्दै यस्ता तालिमले आर्थिक रूपमा सक्षम समुदाय निर्माणमा टेवा पुग्ने बताइन् । उनले महिलाको आर्थिक सशक्तीकरण र युवाको उद्यमशील विकासलाई स्थानीय सरकारको प्रमुख उद्देश्यका रूपमा अघि बढाइएको समेत उल्लेख गरिन् । समापन कार्यक्रममा सहभागीहरूलाई प्रमाणपत्र वितरण गर्दै उपप्रमुख महर्जनले कार्यक्रम सफल बनाउन योगदान पुर्‍याउने आयोजक संस्था, प्रशिक्षक तथा सम्पूर्ण सहभागीहरूलाई धन्यवाद दिएकी थिइन् । स्थानीय स्तरमै सीप सिकेर आत्मनिर्भर बन्ने वातावरण सिर्जना गर्नु नगरपालिकाको दीर्घकालीन लक्ष्य रहेको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्