Skip to content

भौतिक पूर्वारधा विकास मन्त्री सुनिल लम्सालको अराजक अभिव्यक्ति : ‘काम नगरे खुट्टा भाँचिदिनु’

काठमाडौं – पूर्वाधार विकास मन्त्री सुनिल लम्साल ले नौबिसे–मलेखु सडकखण्ड अनुगमनका क्रममा बिजुलीका पोल सार्ने जिम्मा पाएको ठेकेदारलाई लक्षित गर्दै दिएको अभिव्यक्ति सामाजिक सञ्जालमा विवादको विषय बनेको छ । आइतबार नागढुंगा–मुग्लिन सडकखण्ड अन्तर्गतको नौबिसे–मलेखु खण्डको स्थलगत अनुगमनका क्रममा मन्त्री लम्सालले काममा ढिलाइ भएको भन्दै ठेकेदारलाई कडा चेतावनी दिएका थिए । सार्वजनिक भिडियोमा उनले ‘काम नगरे खुट्टा भाँच्दिने’ शैलीको अभिव्यक्ति दिएको सुनिन्छ । उक्त भिडियो अहिले सामाजिक सञ्जालमा व्यापक रूपमा फैलिएको छ ।

अनुगमनका क्रममा सडक निर्माण पक्ष र आयोजनाका अधिकारीहरूले बिजुलीका पोल स्थानान्तरणमा ढिलाइ हुँदा सडक विस्तार प्रभावित भएको जानकारी मन्त्रीलाई गराएका थिए। त्यसपछि मन्त्रीले आवेशमा आएर उक्त प्रतिक्रिया दिएको बताइएको छ । पूर्वी खण्ड सडक आयोजनाका अनुसार आदमघाटदेखि मलेखुसम्म रहेका ७४ वटा बिजुलीका पोलमध्ये धेरै अझै स्थानान्तरण भएका छैनन् । कतिपय स्थानमा नयाँ पोल गाडिए पनि पुरानै संरचनामा विद्युत् प्रवाह भइरहेकाले निर्माण कार्यमा जोखिम बढेको जनाइएको छ । बिजुलीका पोल सार्ने जिम्मेवारी सोहन कन्स्ट्रक्सन ले पाएको बताइएको छ । आयोजनाका अनुसार नागढुंगादेखि मुग्लिनसम्म पोल व्यवस्थापनका लागि १२ करोड रुपैयाँभन्दा बढी लागत अनुमान गरिएको छ भने पूर्वी खण्डमा मात्रै ६ करोडभन्दा बढी खर्च हुने प्रक्षेपण छ । यसमध्ये अधिकांश रकम सम्बन्धित निकायलाई भुक्तानी भइसकेको जनाइएको छ । अनुगमनपछि मन्त्री लम्सालले सडक निर्माणमा अवरोध भएका पक्षले शीघ्र काम सम्पन्न गर्नुपर्ने र स्थानीयले लामो समयदेखि सास्ती भोगिरहेको बताएका छन् । यसैबीच, आइतबार नै बालेन शाह ले सामाजिक सञ्जालमा ‘देश बनाउने टोली’ शीर्षकसहित मन्त्री लम्साल र सुधन गुरुङ सँगको तस्वीर सार्वजनिक गरेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्