Skip to content

प्रतिपक्षी दलको बैठक बहिष्कारबीच मध्यरातमा सार्वजनिक गरियो सुदूरपश्चिम प्रदेशको बजेट

काठमाडौँ – सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि ३७ अर्ब ७० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । प्रदेशसभाको १ असारको राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गरेका हुन् । आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट १ अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाट भई प्राप्त हुने अनुमानित रकम १० अर्ब २४ करोड ९२ लाख ६६ हजार रुपैयाँ अनुमान गरिएको छ ।

यस्तै, संघीय रोयल्टीबापत ७ करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान ९ खर्ब ६ करोड ३३ लाख, चालु आवको विनियोजनबाट बचत हुने ९ अर्ब ६२ करोड, सशर्त अनुदान ६ अर्ब तीन करोड ५८ लाख, संघीय समपूरक अनुदान ३८ करोड ३८ लाख र विषेश अनुदानबाट ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री धामीले जानकारी दिए । प्रस्तुत बजेटमा चालु र पुँजीगततर्फ के–कति बजेट विनियोजन गरिएको भन्नेबारे मन्त्री धामीले उल्लेख गरेनन् । प्रतिपक्षी दलका सदस्यहरूको बहिष्कारका बीच सरकारले बैठकमा आगामी आवको बजेट सार्वजनिक गरेको हो ।

बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यहरू आ–आफ्नो स्थानमा उठेर विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले दिएको समयमा बोलेका प्रदेशसभा सदस्य मानबहादुर धामीले समयमै बजेट पेस गर्न नसकेर सरकारले लाचारीपन देखाएको बताए । त्यसपछि सबै प्रतिपक्षी सांसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए । बजेट बाँडफाँटमा सत्तापक्षका प्रदेशसभा सदस्यहरूबीच नै मतऐक्यता हुन नसकेपछि प्रदेशसभा बैठकमा आगामी आवको बजेट पेस गर्न ढिलाइ भएको हो । प्रदेश सरकारको चालु आवमा ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको बजेट विनियोजन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्