काठमाडौं – सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी महाधिवेशनलाई लक्षित गर्दै प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाह निकट पक्षलाई संगठनमा समेट्ने गरी नयाँ संरचनात्मक व्यवस्था अघि बढाउने तयारी गरेको छ । बिहीबार बसेको सचिवालय बैठकले १ सय ५१ सदस्यीय केन्द्रीय समिति बनाउँदा ५० जना सदस्य मनोनीत गर्ने सहमति गरेको स्रोतले जनाएको छ । यसबाट बालेन पक्षका अधिकांश नेताहरूलाई केन्द्रीय संरचनामा समेट्ने रणनीति अपनाइएको बुझिएको छ ।
बैठकमा यसअघि भएको सहमतिअनुसार ‘वरिष्ठ नेता’ पदलाई विधानमै समावेश गर्ने विषयमा पनि सहमति जुटेको बताइएको छ । चितवनमा हुने पहिलो महाधिवेशनबाट केही पदमा निर्वाचन हुने भए पनि केही पदाधिकारीलाई प्रतिस्पर्धाबिनै चयन गर्ने तयारी भएको स्रोतको दाबी छ । रास्वपाले हाल रहेको दुई उपसभापति पदलाई बढाएर तीन पुर्याउने प्रस्ताव अघि सारेको छ। नयाँ व्यवस्थाअनुसार एक उपसभापति मनोनीत हुने र बाँकी दुई पदमा प्रतिस्पर्धा हुने सम्भावना रहेको छ । महामन्त्री पदमा पनि संरचनात्मक परिवर्तनको तयारी गरिएको छ । दुईमध्ये एक महामन्त्री मनोनीत गर्ने सैद्धान्तिक सहमति बनेको जनाइएको छ । हाल संस्थापन पक्षबाट कविन्द्र बुर्लाकोटी र बालेन पक्षबाट भूपदेव शाह महामन्त्री पदका प्रमुख आकांक्षी मानिएका छन् ।
यस्तै प्रवक्ता मनिष झा, कोषाध्यक्ष लिमा अधिकारी, कानुनमन्त्री सोविता गौतम तथा दीपक बोहरासमेत महामन्त्रीको दौडमा देखिएका छन् । स्रोतका अनुसार एक महामन्त्री पद बालेन पक्षको भागमा पर्ने सम्भावना बलियो देखिएको छ भने अर्को पदमा प्रतिस्पर्धा हुन सक्छ । सहमहामन्त्री पाँच जना रहने प्रस्ताव गरिएको छ। तीमध्ये तीन जना निर्वाचनबाट र दुई जना मनोनयनबाट आउने व्यवस्था गर्न लागिएको बताइएको छ । सह-कोषाध्यक्ष दुई पद पनि मनोनयनमार्फत चयन गर्ने सहमति बनेको जनाइएको छ भने कोषाध्यक्ष भने निर्वाचनबाट आउनेछन् । त्यस्तै प्रवक्ता र सह–प्रवक्ता पदाधिकारी नहुने व्यवस्था प्रस्ताव गरिएको छ। पार्टीमा एक प्रवक्ता र तीन सह–प्रवक्ता रहने तथा ती पद मनोनयनमार्फत चयन गर्ने तयारी भएको बताइएको छ ।
चितवनमा हुने पहिलो महाधिवेशनका लागि पार्टीले तयारी तीव्र बनाएको जनाएको छ । सचिवालयले तयार पारेका एजेन्डा असार ६ गते चितवनमै बस्ने केन्द्रीय समिति बैठकबाट पारित गर्ने तयारी रहेको स्रोतको भनाइ छ । जिल्ला र प्रदेश तहका अधिवेशनबाट प्रभाव विस्तार गरेको बालेन समूह महाधिवेशनबाट पनि आफ्नो उपस्थिति बलियो बनाउने रणनीतिमा रहेको बताइएको छ ।




प्रतिक्रिया दिनुहोस्