काठमाडौं – झापा जिल्लाको बिर्तामोड क्षेत्रमा पछिल्लो १२ घण्टामा २०८ मिलिमिटर वर्षा मापन भएको तथ्यांक सार्वजनिक भएको छ। नेपाल वेदर फोरकास्टमा देखिएको यो परिमाण अत्यधिक वर्षाको श्रेणीमा पर्ने मानिएको छ । मौसम प्रणालीको विश्लेषण अनुसार भारतको बिहार क्षेत्रमा सक्रिय रहेको मनसुनी वायु पूर्वतर्फ सर्दै कोशी प्रदेश, पूर्वी मधेस तथा बागमती प्रदेशतर्फ प्रभाव विस्तार गर्दै गएको देखिएको छ । यसले पूर्वी नेपालको मौसमलाई थप सक्रिय बनाउने संकेत गरेको छ। मौसमविद् धर्मराज उप्रेतीका अनुसार कोशी प्रदेशमा आगामी तीन दिनसम्म मध्यमदेखि भारी वर्षाको सम्भावना रहेको छ। विशेषगरी तराई तथा पहाडी क्षेत्रमा मेघगर्जन, चट्याङसहित वर्षा हुन सक्ने भएकाले सतर्कता अपनाउन सुझाव दिइएको छ ।
भारी वर्षासँगै नदी तथा खोलामा पानीको सतह बढ्ने, डुबान, आकस्मिक बाढी तथा पहिरोको जोखिम रहने भएकाले स्थानीय बासिन्दा, यात्रु तथा सम्बन्धित निकायलाई मौसमको अद्यावधिक सूचना नियमित रूपमा हेर्न आग्रह गरिएको छ ।




प्रतिक्रिया दिनुहोस्