Skip to content

नेपालमा मनसुन भित्रियो, औसतभन्दा कम वर्षा र बढी गर्मी हुने अनुमान

काठमाडौं — नेपालमा यस वर्षको मनसुन अन्ततः भित्रिएको छ। जल तथा मौसम विज्ञान विभागले शुक्रबार कोशी प्रदेशबाट मनसुन नेपाल प्रवेश गरेको औपचारिक घोषणा गरेको हो । विभागका अनुसार नेपालमा सामान्यतया जुन १३ (जेठ ३०) मा मनसुन भित्रिने भए पनि यस वर्ष ६ दिन ढिला गरी मनसुन सुरु भएको हो। प्रशान्त महासागर क्षेत्रमा विकसित एल निनो प्रणालीका कारण मनसुन आगमनमा ढिलाइ भएको विभागको भनाइ छ ।

गत वर्ष भने औसतभन्दा १५ दिन अगावै मनसुन नेपाल भित्रिएको थियो। विभागले यस वर्ष मनसुन अवधिभर औसतभन्दा कम वर्षा र तुलनात्मक रूपमा बढी गर्मी हुने प्रक्षेपण सार्वजनिक गरेको छ । यसैबीच, पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा वर्षा भएको छ। सबैभन्दा बढी वर्षा तनहुँको कोटगाउँमा १३६ मिलिमिटर मापन गरिएको छ । त्यसपछि बन्दीपुरमा ८१ मिलिमिटर, दमौलीमा ६९ मिलिमिटर, बागलुङको श्रीकाङमा ७५ मिलिमिटर, कास्कीको याङ्जाकोटमा ६४.४ मिलिमिटर तथा गोरखामा ५४ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ । आज दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थान, बागमती र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भू–भाग, साथै लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । केही उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना पनि औंल्याइएको छ । त्यसैगरी कोशी प्रदेशको तराई तथा मधेस प्रदेशका केही स्थानमा पनि मेघगर्जन र चट्याङसहित वर्षा हुन सक्ने पूर्वानुमान गरिएको छ ।

उता, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रहरूमा तातो लहर जारी रहने सम्भावना छ भने बागमती र गण्डकीका तराई क्षेत्रमा पनि तातो दिन रहने अनुमान गरिएको छ । आज राति मधेस प्रदेश र अन्य हिमाली तथा पहाडी भू–भागमा आंशिक बदली रहने तथा अन्य तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहने विभागले जनाएको छ । कोशी, बागमती र गण्डकी प्रदेशका केही पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जनसहित वर्षा हुने सम्भावना रहेको छ भने कोशी र गण्डकीका पहाडी भू–भाग तथा कोशीको तराईका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्