काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले आफूले अतिरिक्त अधिकार प्रयोग गर्ने अभ्यास नगरेको स्पष्ट पारेका छन् । चितवनको भरतपुरमा आइतबारबाट सुरु हुने पार्टीको पहिलो महाधिवेशनअघि आज बसेको केन्द्रीय समितिको बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्ताे बताएका हुन् । विधान संशोधनका क्रममा पदाधिकारीको संख्या वृद्धि तथा मनोनीत सदस्यहरूको व्यवस्था विशेष परिस्थितिका रूपमा गरिएको उनले बताए । सभापति लामिछानेले पदाधिकारी संख्या र मनोनीतको व्यवस्थाबारे उठेका प्रश्नप्रति संकेत गर्दै यसलाई सामान्य रूपमा बुझ्न आग्रह गरे । उनले आफूले अतिरिक्त अधिकारको अभ्यासलाई प्रश्रय नदिएको दाबी गर्दै संगठनात्मक आवश्यकताका आधारमा निर्णयहरू गरिएको उल्लेख गरे।
महाधिवेशनबारे बोल्दै उनले यसलाई एकताको सन्देश दिने अवसरका रूपमा लिनुपर्ने बताए । विभिन्न दलबाट समेत पार्टीमा आबद्ध भएका नेताहरूलाई स्वागत गर्दै उनले आगामी कार्यकालमा पनि सहकार्य निरन्तर रहने विश्वास व्यक्त गरे ।




प्रतिक्रिया दिनुहोस्