Skip to content

रास्वपाको प्रथम महाधिवेशन आजदेखि, ३ हजार ९१८ प्रतिनिधि सहभागी हुने

चितवन — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशन आजदेखि भरतपुरस्थित गेस्टहाउस चौरमा सुरु हुँदैछ । महाधिवेशनको उद्घाटन पार्टी सभापति रवि लामिछाने र प्रधानमन्त्री तथा वरिष्ठ नेता वालेन्द्र शाहले गर्ने कार्यक्रम तय गरिएको छ । महाधिवेशनलाई व्यवस्थित, प्रतिनिधिमूलक र प्रभावकारी बनाउन आवश्यक अधिकांश तयारी पूरा भएको रास्वपाले जनाएको छ। पार्टीका प्रवक्ता मनिष झाका अनुसार देशभरका जिल्ला, प्रदेश तथा विदेशस्थित सम्पर्क समितिबाट प्रतिनिधि छनोट प्रक्रिया सम्पन्न भइसकेको छ । महाधिवेशन स्थल व्यवस्थापन, आवास, यातायात, सुरक्षा तथा स्वयंसेवक परिचालनलगायतका काम अन्तिम चरणमा पुगेका छन् । रास्वपाले महाधिवेशन व्यवस्थापनका लागि १८ वटा उपसमिति गठन गरेर जिम्मेवारी बाँडफाँट गरेको जनाएको छ। राजनीतिक, आर्थिक, सांगठनिक तथा विधानसम्बन्धी प्रतिवेदन तयार भइसकेका छन् भने शनिबार बसेको केन्द्रीय समितिको बैठकले महाधिवेशनमा प्रस्तुत गरिने विधान संशोधन प्रस्ताव पारित गरेको छ ।

विधान संशोधनअनुसार पार्टीको केन्द्रीय समिति १२१ सदस्यबाट बढाएर १५१ सदस्यीय बनाउने प्रस्ताव गरिएको छ। नयाँ संरचनामा प्रदेश सभापतिहरू पदेन सदस्य रहने व्यवस्था गरिएको छ । यससँगै पार्टी पदाधिकारी संरचनामा महिलाको अनिवार्य सहभागिता सुनिश्चित गर्ने प्रस्ताव पनि अघि सारिएको छ। संशोधित व्यवस्थाअनुसार उपसभापति, सहमहामन्त्री, सहप्रवक्ता तथा सहकोषाध्यक्ष पदमा कम्तीमा एक महिला अनिवार्य रहने व्यवस्था गरिएको छ । विधान संशोधन प्रस्तावअनुसार १५१ केन्द्रीय सदस्यमध्ये ५१ जना पार्टी सभापतिले मनोनयन गर्ने व्यवस्था रहनेछ भने ९९ जना खुला प्रतिस्पर्धाबाट चयन हुनेछन्। मनोनयन समावेशी आधारमा गरिने जनाइएको छ। प्रत्येक प्रदेशबाट कम्तीमा एक महिलासहित पाँच–पाँच जना केन्द्रीय सदस्य रहने प्रस्ताव गरिएको छ ।

पार्टी नेतृत्वले महाधिवेशनमार्फत संगठन सुदृढीकरण, नयाँ राजनीतिक रणनीति निर्धारण तथा नेतृत्व चयनलाई प्राथमिकतामा राखेको जनाएको छ। महाधिवेशनमा विधान संशोधन, नीतिगत प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा व्यापक छलफल हुने बताइएको छ । रास्वपाले हालसम्म पार्टी सदस्य संख्या पाँच लाख पुगेको जनाएको छ। पार्टीका अनुसार ६१० पालिकामा अधिवेशन सम्पन्न भइसकेको छ भने चार हजार ६३ वडामा संगठन विस्तार र अधिवेशन प्रक्रिया पूरा गरिएको छ । महाधिवेशनमा कुल ३ हजार ९१८ प्रतिनिधि सहभागी हुनेछन्। त्यसमध्ये ३०० प्रतिनिधि मनोनयनमार्फत सहभागी गराइने व्यवस्था गरिएको रास्वपाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्