काठमाडौँ – भीष्मराज आङ्देम्बे ले प्रमुख प्रतिपक्षको भूमिका सरकारको विरोधका लागि मात्र नभई जनअपेक्षाअनुसार काम गर्न निरन्तर खबरदारी गर्ने भएको बताएका छन् । आइतबार इलाम नगरपालिका को नगरसभालाई सम्बोधन गर्दै उनले प्रतिपक्षले संसदभित्र उठाउने विषयहरू जनताकै आवाज भएको दाबी गरे। सरकारलाई उत्तरदायी बनाउने र जनतासँग गरिएका प्रतिबद्धता कार्यान्वयन गराउन सचेत गराउने जिम्मेवारी प्रतिपक्षको भएको उनको भनाइ थियो ।
नेता आङ्देम्बेले किसानहरूले विभिन्न समस्याको सामना गरिरहे पनि राज्यले अपेक्षाअनुसार संवेदनशीलता नदेखाएको टिप्पणी गरे। किसानमाथिको दबाब र समस्याले देशको अर्थतन्त्रलाई गम्भीर मोडतर्फ धकेलिरहेको भन्दै यस विषयमा राज्य अझ जिम्मेवार बन्नुपर्ने बताए । उनले ठूलो जनमतका आधारमा सरकार गठन भए पनि जनताप्रति जवाफदेही बनाइराख्ने जिम्मेवारी प्रतिपक्षकै हुने उल्लेख गरे। संसदभित्र प्रतिपक्षले उठाउने आवाज नागरिककै प्रतिनिधित्व भएको उनको भनाइ थियो । आङ्देम्बेले पछिल्लो समय देशभर सरकारप्रति असन्तुष्टि बढ्दै गएको अनुभूति भइरहेको समेत बताए। मत परिवर्तन र नयाँ राजनीतिक शक्तिप्रतिको आकर्षणले अपेक्षित परिणाम दिन नसकेको निष्कर्षमा नागरिकहरू पुग्न थालेको उनको भनाइ थियो । साथै, विगतमा राजनीतिक दलहरूले जनविश्वासको सम्मान गर्न नसक्दा नागरिकहरू नयाँ दलतर्फ आकर्षित भएको स्वीकार गर्दै उनले जनमतको सम्मान र उत्तरदायी शासन आजको आवश्यकता रहेको बताए ।




प्रतिक्रिया दिनुहोस्