काठमाडौं – स्विट्जरल्यान्डमा अमेरिका र इरानबीच भएको उच्चस्तरीय वार्तापछि अमेरिकाले इरानी तेल उत्पादन, आपूर्ति तथा बिक्रीमा लगाइएको प्रतिबन्ध अस्थायी रूपमा हटाउने निर्णय गरेको छ । साथै इरानसँग सम्बन्धित १२ अर्ब अमेरिकी डलर बराबरको रोक्का गरिएको कोष पनि फुकुवा गरिएको बताइएको छ । अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले सामाजिक सञ्जाल एक्समार्फत अमेरिकी अर्थ मन्त्रालयले इरानी तेल कारोबारका लागि ६० दिने अस्थायी लाइसेन्स जारी गरेको जानकारी दिएका छन् ।
यो व्यवस्थाअनुसार आगामी २१ अगस्टसम्म इरानले विश्व बजारमा तेल तथा पेट्रोलियमजन्य पदार्थ बिक्री गर्न पाउनेछ । साथै अमेरिकी कम्पनीहरूले समेत इरानी तेल खरिद गरी अमेरिकी डलरमै भुक्तानी गर्न सक्ने व्यवस्था गरिएको छ । आवश्यक परे उक्त अवधि नवीकरण गर्न सकिने जनाइएको छ । यो निर्णय स्विट्जरल्यान्डमा सम्पन्न लामो वार्तापछि आएको हो । अमेरिकी पक्षले वार्तालाई सकारात्मक उपलब्धिका रूपमा लिएको जनाएको छ । अमेरिकी उपराष्ट्रपति जेडी भान्सले छलफलमा उल्लेखनीय प्रगति भएको बताएका छन् । वार्ताका क्रममा इरानले अन्तर्राष्ट्रिय आणविक ऊर्जा एजेन्सी (आईएईए) का निरीक्षकहरूलाई पुनः आफ्नो देशमा प्रवेश गर्न दिने सहमति जनाएको बताइएको छ ।
त्यसैगरी, इरानले स्ट्रेट अफ होर्मुज हुँदै जहाजहरूको सुरक्षित आवागमन सुनिश्चित गर्ने प्रतिबद्धता पनि व्यक्त गरेको छ । हालसम्म क्षेत्रीय तनावका कारण प्रभावित बनेको यो मार्ग विश्वकै महत्वपूर्ण तेल ढुवानी मार्गमध्ये एक मानिन्छ, जहाँबाट विश्व निर्यात हुने करिब २० प्रतिशत कच्चा तेल ओसारपसार हुने गर्छ । सहमतिअनुसार आगामी ६० दिनसम्म जहाजहरूले अतिरिक्त शुल्क नतिरी उक्त समुद्री मार्ग प्रयोग गर्न सक्नेछन् । त्यसपछि इरान र खाडी क्षेत्रका देशहरूले दीर्घकालीन व्यवस्थापन तथा सम्भावित शुल्क संरचनाबारे थप छलफल गर्ने जनाइएको छ । यसैबीच, इरानी पक्षले अमेरिकासँग १२ अर्ब डलर बराबरको रोक्का गरिएको कोष फुकुवा गर्ने सहमति भएको जनाएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त रकम अमेरिकी कृषि उत्पादन खरिदमा प्रयोग गर्न सकिने बताएका छन् । तर इरानको केन्द्रीय बैंकले भने तेहरान कुनै पनि अमेरिकी कृषि वस्तु खरिद गर्न बाध्य नभएको स्पष्ट पारेको छ ।




प्रतिक्रिया दिनुहोस्