Skip to content

बन्दसत्रमा रविको चेतावनी- यसलाई भोट दिनु, उसलाई नदिनु भन्ने रास्वपा होइन

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने ले पार्टीभित्र गुटउपगुटको प्रवृत्ति बढ्न सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् । पार्टीको भर्खरै सुरु भएको बन्दसत्रलाई सम्बोधन गर्दै उनले गुटउपगुटले सकारात्मक परिणाम नदिने उल्लेख गरे। उनका अनुसार पार्टीले पुरानै शैली र प्रवृत्ति दोहोर्‍यायो भने अपेक्षित परिवर्तन सम्भव नहुने बताए ।

‘साथीहरू, हामीसँग पनि गुटउपगुट यस्तै रह्यो भने हामीबाट आउने परिणाम पनि उस्तै हुन्छ । फरक आउँदैन,’ उनले भने, ‘फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ  ।’  लामिछानेले विगतकै शैली अपनाएर नयाँ नतिजाको अपेक्षा गर्नु दिवास्वप्न हुने टिप्पणी गरे। उनले महाधिवेशन प्रतिनिधिहरूलाई स्वतन्त्र र विवेकपूर्ण निर्णय गर्न आग्रह गर्दै कसैको प्रभाव वा दबाबमा नपर्न सुझाव दिए । उनले गलत मनसायका साथ प्रतिनिधि चयन गरिएको हुन सक्ने आशंका पनि व्यक्त गरे । ‘यदि गलत तरिकाले कसैले तपाईँलाई यो हलसम्म ल्याइदिएको छ भने त्यो कुरा त्यही रोक्नुस् । कसैले मित्रताका आधारमा यहाँसम्म महाधिवेशन प्रतिनिधि बनाएर ल्याएको छ भने उसलाई धन्यवाद दिनुहोला, भोट चाहिँ राम्रालाई दिनुहोला,’ उनले भने ।

सभापति लामिछानेले आफू कुनै पक्षमा नरही ‘आइसोलेट’ बसेको दाबी गर्दै जसले जिते पनि अन्ततः पार्टीकै जित हुने विश्वास व्यक्त गरे । उनले केन्द्रीय समितिमा जाने व्यक्तिहरूलाई विवेकपूर्ण रूपमा छनोट गर्न आग्रह गर्दै पार्टीभित्र गलत प्रवृत्तिको सानो बीउ पनि रोपिन नहुने बताए । साथै, पार्टीभित्र विभिन्न अफवाह सुनिएको उल्लेख गर्दै उनले प्रतिनिधिहरूलाई कसैको आग्रह वा दबाबका आधारमा मतदान नगर्न आग्रह गरे । ‘तपाईँले आफू कसलाई भोट हाल्नुहुन्छ, त्यो तपाईँको कुरा हो । तर, यसलाई भोट दिनु, उसलाई नदिनु भन्ने व्यक्ति रास्वपा होइन,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्