काठमाडौं – नेपालबाट भारततर्फ चिया निर्यातमा अवरोध भएपछि बन्द भएका पूर्वी नेपालका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्। प्रधानमन्त्री कार्यालयले चिया क्षेत्रका समस्यालाई गम्भीर रूपमा लिएर कूटनीतिक तथा प्रशासनिक पहल गर्ने आश्वासन दिएपछि उद्योगीहरूले बन्द फिर्ता लिएका हुन्।
भारतीय पक्षले नेपालबाट निर्यात गरिएको तयारी चियालाई प्रयोगशाला परीक्षणको बहानामा रोक लगाएपछि करिब ३ लाख केजी चिया भारतका गोदाममा थन्किएको थियो। त्यस्तै १० लाख केजीभन्दा बढी चिया नेपालकै गोदाममा रोकिएपछि इलामका उद्योगीहरूले असार १ गतेदेखि र झापाका उद्योगीहरूले असार ४ गतेदेखि उद्योग बन्द गरेका थिए। नेपाल चिया उत्पादक संघका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताका अनुसार सरकारबाट समस्या समाधानका लागि सकारात्मक संकेत आएपछि उद्योगहरू पुनः सञ्चालन गर्ने निर्णय गरिएको हो। उनका अनुसार बिहीबारदेखि केही उद्योग खुलेका छन् भने शुक्रबारदेखि झापा, इलामसहित पूर्वका सबै उद्योग पूर्ण रूपमा सञ्चालनमा आउनेछन्। साथै चिया बगानमा पनि काम नियमित रूपमा अघि बढ्नेछ।
यसअघि सरकारले चिया निर्यातमा देखिएका समस्याको अध्ययन र समाधानका लागि विशेष कार्यदल गठन गरेको जनाएको थियो। कार्यदललाई तत्कालीन, मध्यकालीन र दीर्घकालीन समाधानसहित दुई साताभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको छ।
कार्यदलमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको नेतृत्व रहने गरी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, अर्थ, गृह, परराष्ट्र, कृषि, वन तथा वातावरण मन्त्रालयका प्रतिनिधि, भन्सार विभाग, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, नेपाल गुणस्तर तथा नापतौल विभाग, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड लगायत निकायको सहभागिता रहेको बताइएको छ। उद्योगीहरूले सरकारको पहलप्रति विश्वास व्यक्त गर्दै चिया किसान र मजदुरको जीविकामा असर नपरोस् भन्ने उद्देश्यले उद्योग सञ्चालनमा फर्किएको बताएका छन्।
बन्दका कारण झापा, इलामसहित पूर्वी नेपालका ९९ वटा चिया उद्योग र सयभन्दा बढी साना–ठूला चिया बगान प्रभावित भएका थिए। उद्योगीहरूले यसअघि प्रधानमन्त्रीसँग प्रत्यक्ष भेटको प्रयास गरे पनि सफल हुन नसकेका थिए। प्रधानमन्त्री सचिवालयसँगको छलफलमा भने भारतबाहेकका सम्भावित वैकल्पिक बजारबारे समेत उद्योगीहरूलाई सुझाव दिन आग्रह गरिएको थियो।




प्रतिक्रिया दिनुहोस्