काठमाडौं – नेपाली कांग्रेसभित्र नेतृत्व तहमा सहमतिको सम्भावना कमजोर बन्दै गएको छ। सभापतिसँग संवाद अपेक्षित रूपमा अघि नबढेपछि इतर पक्षले १५औँ महाधिवेशनको तयारीका लागि छुट्टै सम्पर्क कार्यालय खोल्ने तयारी थालेको जनाएको छ ।
इतर पक्षका नेता मीनबहादुर विश्वकर्माका अनुसार महाधिवेशन लक्षित गतिविधि, नेताहरूबीच समन्वय तथा नियमित छलफलका लागि कार्यालय स्थापना गर्न लागिएको हो। कार्यालय काठमाडौंको महाराजगञ्जस्थित चुनदेवी क्षेत्र आसपास खोल्ने तयारी भइरहेको र अन्य स्थानसमेत हेरिएको उनले बताए । उनका अनुसार एक–दुई दिनभित्र कार्यालय सञ्चालनमा आउने सम्भावना छ। हाल संस्थापन पक्षसँग प्रभावकारी संवाद हुन नसकेको र पछिल्ला केही सातायता औपचारिक छलफलसमेत अघि नबढेको उनको भनाइ छ । विश्वकर्माले तीन साताअघि विश्वप्रकाश शर्माले सहमतिको प्रस्ताव अघि सारेको र त्यसलाई आधार बनाएर थप छलफलको प्रयास भएको बताए । उक्त प्रयास अन्तर्गत पूर्णबहादुर खड्कासँग पनि संवाद भएको र त्यसपछि सभापतिसँग बसेर विषय टुंग्याउने तयारी रहे पनि त्यसयता कुनै प्रगति नभएको उनले संकेत गरे । इतर पक्षले खोल्न लागेको सम्पर्क कार्यालय कुनै एक समूहमा सीमित नरहने दाबी पनि गरिएको छ । विश्वकर्माले डा. शेखर कोइराला पक्षसमेत त्यसमा सहभागी हुने विश्वास व्यक्त गर्दै महाधिवेशनसँग सम्बन्धित मुद्दामा दुवै पक्षबीच समान धारणा रहेको बताए ।कांग्रेसभित्र महाधिवेशनको तयारीसँगै आन्तरिक शक्ति सन्तुलन र सहमतिका प्रयासहरूलाई राजनीतिक रूपमा चासोका साथ हेरिएको छ ।




प्रतिक्रिया दिनुहोस्