काठमाडौं – बालेन शाह नेतृत्वको सरकारका ८ जना मन्त्री सत्तारुढ दल रास्वपाको केन्द्रीय समितिमा निर्वाचित भएका छन् । पार्टी महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा श्रममन्त्री रामजी यादव भने पराजित भएका छन् । निर्वाचनमा सर्वाधिक मत ल्याउने शीर्ष तीन नेतामध्ये सबै मन्त्री रहेका छन् । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, कानून मन्त्री सोविता गौतम र परराष्ट्रमन्त्री शिशिर खनाल उच्च मतसहित विजयी भएका हुन् ।
केन्द्रीय सदस्यमा निर्वाचित हुने अन्य मन्त्रीहरूमा बिराजभक्त श्रेष्ठ, सस्मित पोखरेल, सीता वादी, निशा मेहता र गीता चौधरी रहेका छन् । यता सरकारका ६ जना मन्त्रीहरूले भने पार्टी निर्वाचनमा उम्मेदवारी दिएनन् । प्रधानमन्त्री बालेन्द्र शाह वरिष्ठ नेतामा निर्वाचनबिनै चयन भएका छन् । गृहमन्त्री सुधन गुरुङ, पर्यटनमन्त्री खडकराज पौडेल, सामान्य प्रशासनमन्त्री प्रतिभा रावल, भौतिक पूर्वाधारमन्त्री सुनील लम्साल तथा उद्योगमन्त्री गौरीकुमारी यादव चुनावी प्रतिस्पर्धामा सहभागी भएनन् । उनीहरू मनोनित केन्द्रीय सदस्य बन्न सक्ने सम्भावना रहेको बताइएको छ । श्रममन्त्री रामजी यादव भने खुला केन्द्रीय सदस्यतर्फ प्रतिस्पर्धा गर्दै ८६९ मतसहित पराजित भए । अन्य प्रतिस्पर्धी मन्त्रीहरूले १५ सयभन्दा बढी मत ल्याउँदा यादवले अपेक्षित समर्थन जुटाउन सकेनन् ।



प्रतिक्रिया दिनुहोस्