Skip to content

भेनेजुएलामा भूकम्पको विनाशकारी असर: मृत्यु हुनेको संख्या ९२० पुग्यो, ५१ हजारभन्दा बढी बेपत्ता

काठमाडौं – भेनेजुएलामा गएको शक्तिशाली भूकम्पपछि मृत्यु हुनेको संख्या ९२० पुगेको छ। अन्तर्राष्ट्रिय समाचार संस्था एसोसियटेड प्रेस (एपी)का अनुसार गत बुधबार राति ७.२ र ७.५ म्याग्नेच्युडका दुई शक्तिशाली भूकम्प आएपछि शनिबारसम्म उक्त संख्या पुगेको हो । भूकम्पपछि ५१ हजारभन्दा बढी मानिस बेपत्ता रहेको जनाइएको छ। प्रभावित क्षेत्रमा ठूला भवनहरू पूर्ण रूपमा भग्नावशेषमा परिणत भएका छन् भने हजारौं परिवार विस्थापित भएका छन् । सरकारी उद्धार टोलीको अभाव देखिएपछि स्थानीय नागरिकहरू आफैँ भग्नावशेष हटाएर आफन्तको खोजीमा जुटिरहेका छन् । उद्धार कार्य ढिलो हुँदा अझै भग्नावशेषभित्र जीवित फसेका मानिसहरूलाई सुरक्षित निकाल्ने सम्भावना घट्दै गएको स्थानीय बासिन्दाहरूले बताएका छन्  । सबैभन्दा बढी प्रभावित ला गुआइरा क्षेत्रमा शुक्रबार रातिदेखि प्रवेशमा कडाइ गरिएको छ। सरकारले उद्धार कार्यमा अवरोध हुने भन्दै अनुमति बिना प्रवेश गर्न नपाइने व्यवस्था लागू गरेको जनाएको छ ।

आफ्ना परिवारका सदस्यको खोजीमा रहेकी नाजारेथ जिमेनेजले सरकार र अन्तर्राष्ट्रिय समुदायसँग तत्काल भारी उपकरण उपलब्ध गराउन आग्रह गरेकी छन् । उनले अझै भग्नावशेषभित्र मानिस जीवित रहेको विश्वास व्यक्त गर्दै उद्धारमा सहयोग गर्न अपिल गरिन् ।सरकारले प्रभावित क्षेत्रमा खाना, पानी र राहत सामग्री वितरण भइरहेको जनाएको छ । कार्यवाहक राष्ट्रपति डेल्सी रोड्रिगेजले जीवित व्यक्तिको उद्धारलाई पहिलो प्राथमिकता दिइएको बताउँदै विभिन्न देशबाट उद्धार टोली र मानवीय सहायता आउन थालेको जानकारी दिइन् ।

अधिकारीहरूका अनुसार हालसम्म ३ हजार ३०० भन्दा बढी घाइते भएका छन् भने २४३ जनाको जीवित उद्धार गरिएको छ। यद्यपि बेपत्ता हुनेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । मोबाइल सेवा प्रभावित भएकाले सम्पर्कविहीन व्यक्तिहरू पनि बेपत्ताको सूचीमा परेका हुन सक्ने अधिकारीहरूले बताएका छन्। स्वतन्त्र डिजिटल डाटाबेसमा हजारौं हराएका व्यक्तिको विवरण दर्ता भइरहेको जनाइएको छ । अन्तर्राष्ट्रिय आप्रवासन संगठन (आईओएम)का अनुसार भूकम्पबाट करिब ६७ लाख ६० हजार मानिस प्रभावित हुन सक्ने अनुमान गरिएको छ। जसमध्ये झन्डै २० लाख राजधानी काराकासका बासिन्दा रहेका छन् । भूकम्पपछि केही क्षेत्रमा खाद्यान्न र दैनिक उपभोग्य सामग्री लुटपाटका घटना पनि देखिएका छन्। राहत वितरण स्थलमा ठूलो भीड लागेको र सुरक्षा बल परिचालन गरिएको जनाइएको छ ।

यसैबीच अन्तर्राष्ट्रिय सहयोग तीव्र रूपमा भित्रिन थालेको छ। भेनेजुएला सरकारले अमेरिका, मेक्सिको, स्विट्जरल्यान्ड, एल साल्भाडोर र कोलम्बियासहित विभिन्न देशबाट आएका ८६१ स्वयंसेवक उद्धारमा संलग्न रहेको जनाएको छ । संयुक्त राष्ट्रसंघका अनुसार विभिन्न मुलुकका २५ वटा खोज तथा उद्धार टोलीका करिब एक हजार उद्धारकर्मी भेनेजुएलातर्फ परिचालित भइरहेका छन् । कार्यवाहक राष्ट्रपति रोड्रिगेजले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र विदेशमन्त्री मार्को रुबियोसँग टेलिफोन वार्ता भएको जानकारी दिँदै अमेरिकाले आवश्यक उपकरण र उद्धार सहयोग उपलब्ध गराउने प्रतिबद्धता जनाएको बताइन् ।

प्रतिक्रिया दिनुहोस्