Skip to content

जेनजी आन्दोलनको छानबिन प्रतिवेदन माग्दै मानवअधिकार आयोगमा ओलीको निवेदन

काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘जेनजी आन्दोलन’सँग सम्बन्धित छानबिन प्रतिवेदन, निर्णय तथा अनुसन्धानका सम्पूर्ण कागजात उपलब्ध गराउन माग गर्दै राष्ट्रिय मानवअधिकार आयोगमा निवेदन दिएका छन्। अध्यक्ष ओलीका तर्फबाट एमाले नेता महेश बर्तौलाले शुक्रबार आयोगका सचिव मुरारी खरेललाई भेटेर निवेदन दर्ता गराएका हुन्। निवेदनमा गत भदौ २३ र २४ गते भएका घटनाबारे आयोगले गरेको छानबिन तथा अनुसन्धान प्रतिवेदन, निर्णय, त्यससँग सम्बन्धित कागजात, लिइएका बयान तथा संकलित प्रमाणहरूको प्रतिलिपि उपलब्ध गराउन आग्रह गरिएको छ। ओलीले आयोगले संविधान र कानुनविपरीत कारबाहीको सिफारिस गरेको सार्वजनिक जानकारीका कारण आफू प्रत्यक्ष प्रभावित भएको उल्लेख गर्दै उक्त निर्णय वास्तविक हो वा होइन तथा त्यसको आधारमा के–कस्ता तथ्य र प्रमाण संकलन गरिएको थियो भन्ने जानकारी पाउनु आफ्नो कानुनी अधिकार भएको दाबी गरेका छन्।

निवेदनमा उनले आयोगले आफूमाथि भएको भनिएको निर्णय तथा त्यसको आधार बनेको छानबिन प्रतिवेदन औपचारिक रूपमा उपलब्ध गराउने अपेक्षा गरेको भए पनि निर्णय सार्वजनिक भएको करिब ३० दिन बितिसक्दासमेत कुनै आधिकारिक जानकारी नपाएको उल्लेख गरेका छन्। त्यसैले निर्णयको आधारसहितको प्रतिवेदन उपलब्ध गराउन आयोगसँग माग गरिएको छ । मानवअधिकार आयोगले जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अध्यक्ष ओलीलाई जिम्मेवार ठहर गर्दै कारबाहीको सिफारिस गरेको थियो। उक्त सिफारिसप्रति ओलीले आयोग पूर्वाग्रही भएको आरोप लगाउँदै आएका छन्।

प्रतिक्रिया दिनुहोस्