Skip to content

रास्वपा उपसभापतिमा पराजित भएपछि डा. तोसिमा कार्कीको सन्देश : ‘पार्टीको आवाज हुँ, रहिरहनेछु’

काठमाडौँ –  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को उपसभापति पदमा पराजित भएपछि डा. तोसिमा कार्कीले पार्टीका प्रतिनिधि, समर्थक र शुभेच्छुकप्रति आभार व्यक्त गरेकी छिन्। शनिबार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेखेर उनले  महाधिवेशनको सम्पूर्ण यात्रालाई आफ्नो जीवनको अविस्मरणीय अनुभव भएको उल्लेख गर्दै संगठनबाट पाएको माया, साथ, विश्वास र शुभेच्छाले आफूलाई अझ जिम्मेवार र भाग्यमानी महसुस गराएको बताइन्।

डा. कार्कीले सात दिनसम्म घाम, पानी, हिलो र प्रचण्ड गर्मी सहेर मतदान प्रक्रियामा सहभागी भएका प्रतिनिधि तथा आफ्ना समर्थकप्रति विशेष धन्यवाद व्यक्त गरेकी छन्। उनले महाधिवेशनमा देखिएको उत्साह, ऊर्जा, धैर्यता, सहिष्णुता र सद्भावको पनि प्रशंसा गरेकी छन्।

उनले महाधिवेशनबाट निर्वाचित सबै केन्द्रीय सदस्य तथा पदाधिकारीलाई बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरेकी छन्। साथै, पार्टी स्थापनाकालदेखि संगठन निर्माण र सुदृढीकरणमा योगदान पुर्‍याएका घण्टीमित्रहरूलाई पनि सम्झिएकी छन्।

पराजयका बाबजुद पार्टीप्रतिको आफ्नो प्रतिबद्धता कायम रहने स्पष्ट पार्दै उनले अन्तिममा लेखेकी छन्,‘बलियो संगठन, निडर नेतृत्व र स्पष्ट विचार सधैँ बोकिरहनेछु। पार्टीको आवाज हुँ, रहिरहनेछु।’

प्रतिक्रिया दिनुहोस्