काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सत्तारूढ रास्वपाले १८ वर्षमुनिकालाई पार्टी सदस्य बनाएको विषयमा संसदमा प्रश्न उठाएको छ । आजको प्रतिनिधि सभामा बोल्दै कांग्रेस सांसद रेनुका काउँचाले रास्वपाले १८ वर्ष मुनिका ३५ हजार २ सय ५७ जनालाई पार्टी सदस्य बनाएको पाइएको बताएकी हुन् । ‘एउटा तथ्यांकले निकै गम्भीर र आश्चर्यचकित बनाएको छ, रास्वपा सदस्यता लिनेको सूची हेर्दा १८ वर्षमुनिका पनि ३५ हजार ३ सय ५७ जना सदस्य हुनुहुँदो रहेछ, औपचारिक रूपमा नै घोषणा गरिएको यो सवालको कांग्रेसको ध्यानाकर्षण भएको छ,’ उनले भनिन् । नेपालको संविधान र राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुसार १८ वर्षमुनिका बालबालिकालाई राजनीतिक दलको सदस्य बनाउन पाइँदैन।
‘यस्तो कार्य गरेमा ८० हजार रुपैयाँ जरिवाना र ३ वर्ष कैदको व्यवस्था गरिएको छ, के रास्वपालाई यो व्यवस्था लागू नहुने हो?,’ उनले प्रश्न गरिन्, ‘कि रास्वपा संविधानभन्दा माथि छ?’ उनले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि प्रयोग गर्न नमिल्ने पनि बताइन् । विद्यार्थीले राजनीति गर्न हुँदैन भनेर स्ववियुसहित विद्यार्थी संगठन खारेज गर्ने तयारी गरेको सरकारले ‘आफ्नो दलमा भने बालबालिकालाई सदस्य बनाएको’ उनको भनाइ छ । ‘कलिला विद्यार्थीलाई आफ्नो पार्टीको झोला बोकाउन मिल्छ कि मिल्दैन,’ उनले भनिन् ।



प्रतिक्रिया दिनुहोस्