Skip to content

आजको मौसम : यी स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ – हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी प्रदेशको पूर्वी भू-भागको थोरै स्थानमा मनसुनी वायूको प्रभाव रहेको छ । अन्य भू-भागमा पश्चिमी वायू र स्थानीय वायूको आंशिक प्रभाव रहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशको बाँकी भू-भाग, कर्णाली र सुदुरपश्चिम प्रदेशका सम्पूर्ण भू-भागमा २-३ दिनमा मनसुन बिस्तार हुने सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार बिहान देशको सातै प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । पछिल्लो एक घन्टामा रूपन्देहीको भैरहवामा ३४.८ मिलिमिटर वर्षा मापन भएको छ। सूर्यपुरामा २९.८ मिलिमिटर, तिलोत्तमामा १५.२ मिलिमिटर, कालीकोटको गेलामा २६.४ मिलिमिटर, गोरखाको ताकुकोटमा १०.८ मिलिमिटर वर्षा मापन भएको छ । पछिल्लो चौबीस घन्टामा लमजुङको भोर्लेटारमा १२२ मिलिमिटर, नवलपुरको दम्कौलीमा ११२.८ मिलिमिटर, रूपन्देहीको तिलोत्तमामा ११६.४ मिलिमिटर, कपिलवस्तुको भगवानपुरमा ८४.४ मिलिमिटर वर्षा मापन भएको छ । सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी र हिमाली भु-भागका धेरै स्थानमा,लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भागका केही स्थान मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षा/हिमपातको तथा देशका तराई भू-भागका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्म वर्षाको सम्भावना छ ।

कोशी प्रदेशका पहाडी र तराई भू-भागका एक-दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ । साथै कोशी प्रदेशको तराई र मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । सोमबार राति कोशी, बागमती, गण्डकी प्रदेशका पहाडी र हिमाली भू-भागका धेरै स्थान, र लुम्बिनी प्रदेशका पहाडी भु-भागका केही स्थानमा र हिमाली भू-भागका थोरै स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ । कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू-भागका थोरै स्थान तथा हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षा/हिमपातको सम्भावना छ ।

त्यस्तै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी प्रदेशका तराईका धेरै तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थानमा मेघगर्जन/चट्याङ्ग सहित मध्यमसम्मको वर्षाको सम्भावना छ । कोशी प्रदेशका थोरै स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको छ । मधेश, बागमती, गण्डकी प्रदेशको एक-दुई स्थानमा पनि भारी वर्षाको सम्भावना रहेको छ । राति नै कोशी प्रदेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई तथा मधेश प्रदेशको केही स्थानमा हावाहुरीको पनि सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्