काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमा प्रस्तुत सांगठनिक प्रतिवेदनमा १८ वर्षभन्दा कम उमेरका ३५ हजारभन्दा बढी सदस्य रहेको भन्दै सार्वजनिक भएको तथ्याङ्कबारे स्पष्टीकरण दिँदै पार्टीमा १८ वर्षमुनिका कुनै पनि व्यक्ति सदस्य नरहेको जनाएको छ । महामन्त्री विपिन कुमार आचार्यद्वारा जारी विज्ञप्तिमा महाधिवेशनमा प्रस्तुत गरिएको तथ्याङ्क डिजिटल सदस्यता प्रणालीमा रहेका प्रारम्भिक आवेदनहरूको समष्टिगत विश्लेषण मात्र भएको र त्यो आधिकारिक तथा प्रमाणीकरण भइसकेको सदस्यहरूको अभिलेख नभएको उल्लेख गरिएको छ । रास्वपाका अनुसार डिजिटल प्रणालीमा सदस्यताका लागि जोकोहीले आवेदन दिन सक्ने व्यवस्था भए पनि नागरिकता वा अन्य आधिकारिक कागजातका आधारमा प्रमाणीकरण भएपछि मात्रै सदस्यता स्वीकृत हुने कानुनी व्यवस्था छ । पार्टीले प्रारम्भिक आवेदनमा १८ वर्षभन्दा कम उमेर देखिनुको कारण प्राविधिक त्रुटि भएको जनाएको छ । वि.सं. र ई.सं. (BS/AD) छनोटमा भएको गल्ती, जन्ममिति प्रविष्ट गर्दा भएको टाइपिङ त्रुटि तथा कतिपयले जन्ममितिको सट्टा हालकै मिति प्रविष्ट गरेका कारण प्रणालीले उमेर कम देखाएको विज्ञप्तिमा उल्लेख छ ।
रास्वपाले हालसम्म कुल ५ लाख २३ हजार ४६५ आवेदन प्राप्त भएको जानकारी दिँदै तीमध्ये ३ लाख ९० हजार ११२ जनाको मात्रै आधिकारिक कागजातका आधारमा प्रमाणीकरण सम्पन्न भएको र बाँकी आवेदन प्रमाणीकरणकै प्रक्रियामा रहेको स्पष्ट पारेको छ । विवादपछि रास्वपाले सदस्यता प्रणाली थप व्यवस्थित बनाउन तीन वटा सुधारात्मक कदम घोषणा गरेको छ । पार्टीले प्रणालीमा १८ वर्षभन्दा कम उमेर देखिने विवरण स्वतः रोक्ने व्यवस्था गर्ने, प्रमाणीकरण भएका अभिलेखको पुनः परीक्षण गरी १८ वर्षमुनिका सदस्य भेटिए तत्काल सदस्यता खारेज गर्ने तथा वि.सं. र ई.सं. सम्बन्धी अन्योल हटाउन प्राविधिक सुधार गर्ने जनाएको छ । प्रमाणीकरण नभएको ‘कच्चा तथ्याङ्क’ महाधिवेशनको प्रतिवेदनमा समावेश हुँदा भ्रम सिर्जना भएको स्वीकार गर्दै रास्वपाले त्यसप्रति दुःख व्यक्त गरेको छ। साथै, प्रचलित कानुन र बालबालिकासम्बन्धी ऐन, २०७५ अनुसार १८ वर्ष पूरा गरेका नेपाली नागरिकलाई मात्र पार्टी सदस्यता दिने व्यवस्थाप्रति आफूहरू पूर्ण प्रतिबद्ध रहेको पार्टीले पुनः स्पष्ट पारेको छ ।



प्रतिक्रिया दिनुहोस्