काठमाडौं – संवैधानिक परिषद्ले मोरङका मानबहादुर कार्कीलाई प्रमुख निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । कार्की हाल सर्वोच्च अदालतका रजिस्ट्रार हुन् । सरकारी वकिलबाट पेशा सुरु गरेका उनले न्याय सेवामै समूह परिवर्तन गरेर न्याय प्रशासनमा गएका थिए ।
सिफारिससँगै उनले रजिस्ट्रार पदबाट राजीनामा गरेर संसदीय सुनुवाइको सामना गर्नुपर्नेछ । त्यस्तै परिषद्ले पूर्वडीआईजी डा. राजीव सुब्बा र अवकाशप्राप्त गुरु वाग्ले (ओखलढुंगा) लाई निर्वाचन आयुक्तमा सिफारिस गरेको छ । नेपाल प्रहरीमा सूचना प्रविधि विशेषज्ञ भएर काम गरेका डा. सुब्बा डीआईजी भएर अवकाश भएका थिए । उनी हाल मदन भण्डारी प्राविधिक विश्वविद्यालयमा आवद्ध छन् । वाग्ले निर्वाचन आयोगबाटै अवकाश भएका सरकारी वकिल (उपन्यायाधीवक्ता) हुन् ।
यसअघि निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त कार्यबाहकका जिम्मेवारीमा चलेको थियो । कार्यबाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारीमा रामप्रसाद भण्डारी छन् । उनैले गत फागुनमा भएको प्रतिनिधिसभा निर्वाचनको कमाण्ड सम्हालेका थिए । उनी अर्कोसाता ६५ वर्षे उमेरहदका कारण अवकाश हुँदैछन् ।



प्रतिक्रिया दिनुहोस्