काठमाडौं – नेपाली कांग्रेसका नेता धर्मानन्द जोशीले मुलुकको परिवर्तन केवल रङ परिवर्तनबाट सम्भव नहुने भन्दै सोच, कार्यशैली र नेतृत्वको ढंग परिवर्तन आवश्यक रहेको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै जोशीले रातो, हरियो वा नीलो जस्ता राजनीतिक रङ परिवर्तनलाई परिवर्तनको मापन बनाउन नहुने उल्लेख गरेका छन् । उनले मुलुक र नयाँ पुस्ताका समस्याको समाधान गर्न सोच र काम गर्ने शैलीमा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
महिलाको सहभागिताका विषयमा पनि उनले प्रश्न उठाएका छन् । महिलालाई केवल ‘ब्लु बस’ मा निःशुल्क यात्रा गराउने जस्ता कार्यक्रमले मात्रै देश नबन्ने भन्दै राज्यका महत्वपूर्ण पदमा महिलाको समान सहभागिता सुनिश्चित गर्नुपर्ने उनको भनाइ छ । जोशीले हालै भएका विश्वविद्यालयका उपकुलपति नियुक्तितर्फ संकेत गर्दै सातै जना उपकुलपतिमा पुरुष मात्रै नियुक्त गरिएको उल्लेख गरेका छन् । आगामी राजदूत नियुक्तिमा पनि त्यही प्रवृत्ति दोहोरिन नहुने भन्दै उनले ५० प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न आग्रह गरेका छन् । उनले “ब्लु क्रान्ति” महिलाको नेतृत्व र अवसर विस्तारतर्फ केन्द्रित हुनुपर्ने धारणा व्यक्त गरेका छन् ।
त्यसैगरी, उनले नागरिकलाई कुनै पनि नेतालाई ‘बा’ वा ‘भगवान’को रूपमा नहेर्न आग्रह गरेका छन् । मानिस विवेकी भएकाले सहीलाई सही र गलतलाई गलत भन्न नछाड्नुपर्ने उनको भनाइ छ । जोशीले जनताप्रति आफ्नो सदैव माया र सद्भाव रहने उल्लेख गर्दै लोकतान्त्रिक संस्कार, आलोचनात्मक चेत र समान अवसरको पक्षमा उभिन सबैलाई आग्रह गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्