काठमाडौं — नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भदौ २३ र २४ गतेको घटनापछि आफूहरू मारिने अवस्थासम्म पुगेको दाबी गरेका छन् । त्यतिबेला पार्टी वा आफ्ना कार्यकर्ताभन्दा पनि विश्वको भूराजनीतिक शक्ति सन्तुलनका कारण आफूहरू जोगिएको उनको भनाइ छ । काठमाडौंमा आइतबार आयोजित एक कार्यक्रममा बोल्दै प्रचण्डले त्यसबेलाको अवस्था सम्झिँदै आफूहरू पूर्ण रूपमा निरीह अवस्थामा पुगेको बताए। प्रतिक्रियावादी शक्तिले चाहे तत्कालै आफूहरूलाई समाप्त पार्न सक्ने अवस्था रहे पनि अन्तर्राष्ट्रिय भूराजनीतिक परिस्थितिका कारण आफूहरू बाँच्न सफल भएको उनको दाबी थियो।
उनले भदौ २३ र २४ पछि दुई दिनसम्म आफूहरू जीवित छन् कि छैनन् भन्ने अन्योलको अवस्था रहेको उल्लेख गर्दै पार्टीका नेता–कार्यकर्ता, लडाकु वा युवाले नभई विश्वका शक्ति केन्द्रबीचको प्रतिस्पर्धा र सन्तुलनले आफूहरूलाई जोगाएको बताए । प्रचण्डका अनुसार भूराजनीतिक शक्ति केन्द्रहरूबीचको सहकार्य र प्रतिस्पर्धा (कोलुजन एण्ड कन्टेन्सन) कै प्रभावले आफूहरू बच्न सफल भएका हुन् । उनले भदौ २६ गते भने परिस्थितिमा अप्रत्याशित परिवर्तन आएको पनि स्मरण गरे। उनका अनुसार, २४ गते आफूहरूमाथि कारबाही गर्न खोज्ने पक्षले नै दुई दिनपछि आफू र माधव नेपाललाई राष्ट्रपति कार्यालयमा बोलाएर सुझाव मागेको थियो । ‘हामीलाई बोलाउलान्, प्रधानसेनापति र राष्ट्रपतिले सुझाव माग्लान् भन्ने हामीले कल्पना पनि गरेका थिएनौँ, तर त्यस्तै भयो,’ प्रचण्डले भने ।



प्रतिक्रिया दिनुहोस्