Skip to content

प्रहरी र सशस्त्रका आईजी अमेरिका प्रस्थान, निमित्तको जिम्मेवारी अधिकारी र दाहाललाई

काठमाडौं – नेपाल प्रहरी र सशस्त्र प्रहरीका महानिरीक्षक (आईजी) द्वय दानबहादुर कार्की र नारायणदत्त पौडेल अमेरिका प्रस्थान गरेका छन् । ‘युनाइटेड नेसन्स चिफ्स अफ पोलिस समिट’ मा सहभागी हुन उनीहरू आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका हुन् ।

संयुक्त राष्ट्रसंघको प्रधान कार्यालय न्यूयोर्कमा असार २३ देखि २४ गतेसम्म सञ्चालन हुने उक्त समिटमा उनीहरू सहभागी हुनेछन् । दुवै सुरक्षा निकायका प्रमुखहरू अमेरिका प्रस्थान गरेसँगै नेपाल प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी राजन अधिकारीलाई दिइएको छ भने सशस्त्र प्रहरीको निमित्त महानिरीक्षकको जिम्मेवारी एआईजी वंशी दाहाललाई दिइएको छ । यो भ्रमणमा सरकारी खर्चको मितव्ययिता भन्दै नेपाल प्रहरीका दुई अधिकृत र सशस्त्र प्रहरी बलका दुई अधिकृतको नाम काटिएको थियो ।

दुई अधिकृतको नाम काटिएपछि दुई आईजीपीमात्रै अमेरिका जान लागेका हुन् । उनीहरूलाई विमानस्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरीका विभिन्न अधिकारीहरूले बिदाइ गरेका थिए । समिटको अवसरमा संयुक्त राष्ट्र संघका उच्च पदाधिकारीहरू तथा संयुक्त अरब ईमिरेट्सका प्रतिनिधि मण्डलका सदस्यहरूसँग द्विपक्षीय भेटघाट तथा छलफल गर्ने कार्यक्रम रहेको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्