Skip to content

केही महिनामै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउँछ : उद्योगमन्त्री

काठमाडौं – उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले केही महिनाभित्रै हेटौँडा कपडा उद्योग सञ्चालनमा आउने विश्वास व्यक्त गरेकी छन् । मंगलबार राष्ट्रिय सभाको बैठकमा आफ्नो मन्त्रालयको विनियोजन शीर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै मन्त्री कुमारीले उद्योगको मर्मतका लागि अर्थ मन्त्रालयबाट ३३ लाख रुपैयाँ बजेट निकासा भइसकेको र मर्मतको काम तीव्र रूपमा अघि बढिरहेको जानकारी दिइन् । उनले सरकारले उद्योग पुनः सञ्चालनलाई विशेष प्राथमिकतामा राखेको उल्लेख गर्दै आवश्यक प्रक्रिया अघि बढाइएको बताइन् ।

‘हेटौँडा कपडा उद्योगका लागि ३३ लाख रुपैयाँ बजेट निकासाको व्यवस्था भइसकेको छ। रकम उद्योगमा पुगिसकेको छ र मर्मत कार्य पनि सुरु भइसकेको छ। केही महिनाभित्रै उद्योग सञ्चालनमा आउनेछ भन्नेमा म विश्वस्त छु,’ मन्त्री कुमारीले भनिन् । मन्त्री कुमारीले सरकारले व्यापार घाटा न्यूनीकरणलाई प्राथमिकतामा राखेर विभिन्न योजना कार्यान्वयन गरिरहेको पनि बताइन् । साथै, नेपाल–अमेरिका व्यापार सम्झौताअन्तर्गतको ड्युटी–फ्री र कोटा–फ्री सुविधाको अवधि समाप्त भइसकेकाले त्यसलाई निरन्तरता दिन अमेरिकी सरकारसमक्ष अनुरोध गरिएको जानकारी समेत दिइन् ।

प्रतिक्रिया दिनुहोस्