काठमाडौं – प्रतिनिधिसभाको बुधबारको बैठकमा नेकपा (एमाले) का सांसद राजेन्द्र राईले सभामुख डोलप्रसाद (डीपी) अर्याललाई ‘तपाईं कान सुन्नुहुन्छ कि हुन्न ?’ भन्ने प्रश्न गरेपछि संसदमा हंगामा भएको छ । बोल्ने क्रममा सांसद राईले सभामुखलाई उक्त प्रश्न गरेपछि सभामुख अर्यालले तत्काल उनको अभिव्यक्ति रोकेका थिए। सभामुखले सांसद राईलाई संसदीय मर्यादामा बस्न निर्देशन दिँदै सभामुख र संसदको अवहेलना नगर्न चेतावनी दिए । त्यसपछि सभामुखले अर्को वक्तालाई समय दिए पनि एमाले सांसदहरू आ–आफ्नो आसनबाट उठेर विरोध जनाएका थिए। विरोधका बीच सभामुख अर्यालले संसद सचिवालयका कर्मचारीसँग छलफल गरेका थिए ।
यसक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद टीका संग्रौला (ज्वाला)ले समय माग्दै सांसद राईको अभिव्यक्तिमाथि आपत्ति जनाइन्। उनले संसदमा सभामुखलाई लक्षित गरिएको टिप्पणी नियमावलीविपरीत रहेको उल्लेख गर्दै उक्त अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन माग गरिन्। हटाइएन भने भविष्यका लागि इतिहासमा रहन दिनुपर्ने टिप्पणी पनि उनले गरिन् । सभामुख अर्यालले प्रतिनिधिसभा नियमावलीको व्यवस्था स्मरण गराउँदै सांसद राईलाई आफ्नो शब्द सच्याउने अवसर दिएका थिए। त्यसपछि राईले सभामुख आफूले राखेको विषय नसुनी प्रतिक्रिया दिएको आरोप लगाउँदै आफ्नो भनाइ दोहोर्याए । विवाद थप चर्किएपछि सभामुख अर्यालले प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्