Skip to content

प्रमुख निर्वाचन आयुक्त र आयुक्तकाे सुनुवाइ प्रक्रिया सुरु हुँदै

काठमाडौँ – प्रमुख निर्वाचन आयुक्त तथा निर्वाचन आयुक्त पदका लागि सिफारिस भएका उम्मेदवारको संसदीय सुनुवाइ प्रक्रिया आजदेखि सुरु हुने भएको छ । बिहीबार बस्ने संसदीय सुनुवाइ समिति (संयुक्त)को बैठकमा निर्वाचन आयुक्तहरूको सुनुवाइ प्रक्रिया अगाडि बढाउन लागिएकाे संसद सचिवालयले जनाएकाे छ । बैठक आज बिहान ९:३० बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने तय भएको छ । बैठकले प्रस्तावित उम्मेदवारको सुनुवाइ प्रक्रिया अगाडि बढाउने र आवश्यक कार्यतालिका तय गर्ने समितिकी उपसचिव सावित्रा शर्माले जानकारी दिइन् ।

१९ असारमा बसेको संवैधानिक परिषद्को बैठकले प्रमुख निर्वाचन आयुक्त पदमा मानबहादुर कार्कीलाई सिफारिस गरेको थियो । त्यस्तै, निर्वाचन आयुक्त पदका लागि राजीब सुब्बा र गुरुप्रसाद वाग्लेकाे नाम सिफारिस गरिएको थियाे । संवैधानिक व्यवस्थाअनुसार संसदीय सुनुवाइ समितिबाट अनुमोदन भएपछि मात्र उनीहरूको नियुक्ति प्रक्रिया अगाडि बढ्नेछ । सुनुवाइका क्रममा उम्मेदवारको योग्यता, अनुभव र कार्ययोजनाबारे समितिले छलफल गर्नेछ । अब संसदीय सुनुवाइ समितिले सिफारिस नामहरू अनुमोदन गर्नुपर्नेछ । त्यसपछि राष्ट्रपतिले सम्बन्धित पदमा नियुक्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्