काठमाडौं – सरकारले निजामती कर्मचारीहरूको कार्यशैलीलाई मर्यादित र अनुशासित बनाउन आचारसंहिता जारी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको आचारसंहिताले कर्मचारीलाई कार्यालय समयमा सामाजिक सञ्जालको प्रयोग, व्यक्तिगत आचरण र सेवाग्राहीसँगको व्यवहारमा कडा सीमाहरू तोकेको छ । सरकारी कार्यालयमै टिकटक बनाउने र भिडियो खिचेर सामाजिक सञ्जालमा राख्न निषेध गरिएको छ । कार्यालय समयमा वा कार्यालयको पोसाक लगाएको अवस्थामा फेसबुक, टिकटक वा अन्य सामाजिक सञ्जालका लागि फोटो वा भिडियो खिच्न र सार्वजनिक गर्न पाइने छैन ।
फेसबुक, ट्वीटरलगायतका सामाजिक सञ्जालमा सरकारको नीति वा निर्णयको आलोचना गर्न, अपमानजनक टिप्पणी गर्न वा जनतामा भ्रम र अविश्वास पैदा हुने सामग्री पोस्ट वा सेयर गर्न निषेध गरिएको छ । अनलाइन समाचार वा सामाजिक सञ्जालका पोस्टमा कुनै पनि निकायका पदाधिकारीलाई आँच पुग्ने गरी व्यङ्ग्य वा नकारात्मक टिप्पणी गर्न रोक लगाइएको छ । कर्मचारीको नैतिक आचरण सुधार्न आचारसंहिताले व्यक्तिगत जीवनका केही पक्षलाई पनि समेटेको छ । कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, जुवातास खेल्न, धूमपान गर्न वा कुनै पनि अमर्यादित कार्य गर्न निषेध गरिएको छ ।
मन्त्रालयको पूर्व स्वीकृतिविना कुनै पनि व्यक्ति वा संस्थाबाट उपहार, दान वा आतिथ्यता स्वीकार गर्न नपाइने, सेवाग्राहीसँग कार्यालय बाहिर भेटघाट गर्न र कुनै पनि एजेन्ट वा बिचौलियासँग सम्पर्क गर्न पाइने छैन । कार्यालयमा रहँदा तोकिएको पोसाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने, कार्यालय समयमा बाहिर जानुपर्दा प्रमुखको अनुमति लिएर ‘लगबुक’ भरेर निस्कनुपर्ने पनि आचारसंहितामा उल्लेख छ । अधिकार प्राप्त अधिकारीको आदेशविना सरकारी कागजपत्र वा गोप्य सूचना कसैलाई दिन वा सार्वजनिक गर्न पाइने छैन ।आचारसंहिता पालना भए/नभएको बारे मन्त्रालयको सचिव वा तोकिएको अधिकारीले नियमित अनुगमन गर्ने र उल्लंघन गर्ने कारबाहीको भागीदार बन्नुपर्ने मन्त्रालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्