सिरहा – सिरहाको गोलबजार नगरपालिका–७ स्थित पुरानो चौक चोहर्वामा रहेको पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको मृत्यु भएको छ । प्रहरीका अनुसार मृत्यु हुनेमा अवास शेखका १२ वर्षीया छोरी सबनम खातुन, १० वर्षीया छोरी रुबिना खातुन र ७ वर्षीया छोरा साइफुल शेख रहेका छन् ।
रौतहट जिल्लाको जिगरवा स्थायी घर भएका अवास शेख करिब तीन दशकदेखि गोलबजार नगरपालिका–७ मा परिवारसहित बसोबास गर्दै आएका थिए । घर भाडामा लिएर कवाडी संकलन गरी जीविकोपार्जन गर्दै आएका उनका पाँच सन्तानमध्ये तीन जना आइतवार करिब दिउँसो २:३० बजे घरबाट खेल्न निस्किएका थिए । खेल्ने क्रममा उनीहरू पशु हाटबजार परिसरको खाल्डोमा जमेको पानीमा नुहाउने क्रममा डुबेको बताइएको छ । सोही खाल्डो गाई, गोरु र भैंसी लगायतका पशुहरूका लागि पानी खान बनाइएको बुझिएको छ ।घटनापछि स्थानीयवासी तथा सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि अस्पताल पुर्याए पनि चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका छन् । घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्