Skip to content

इरानलाई ट्रम्पको अर्को धम्की, वार्तामा नआए विद्युत् केन्द्र र पुलमा बमबारी गर्ने

काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरान वार्तामा नआए आगामी साता उसका विद्युत् उत्पादन केन्द्र र पुलहरूलाई लक्षित गर्दै अमेरिकी सेनाले बमबारी गर्ने धम्की दिएका छन् । स्ट्रेट अफ हाेर्मुज हुँदै आवतजावत गर्ने जहाजहरूमा २० प्रतिशत महसुल लगाउने घोषणा गरेको २४ घण्टा नबित्दै आफ्नो निर्णय उल्ट्याएका ट्रम्पले इरानका विद्युत केन्द्र र पुलहरूलाई निसानामा पार्ने धम्की दिएका छन् ।

फक्स न्यूजसँगको अन्तर्वार्तामा ट्रम्पले इरानले कूटनीतिक वार्तामा सहभागी नभए सैन्य कारबाहीलाई तीव्र बनाइने संकेत दिएका हुन् । फक्स न्यूजका संवाददाता टेरी यिङ्सेटसँगको अन्तर्वार्तामा ट्रम्पले भने, ‘यदि इरान वार्ताको टेबलमा आएन भने अमेरिकी सेनाले अर्को साता इरानका विद्युत् उत्पादन केन्द्र र पुलहरूमा बमबारी गर्नेछ ।’ स्थलमार्गबाट सैन्य अभियान चलाउने सम्भावनाबारे सोधिएको प्रश्नमा ट्रम्पले भने, ‘म यसबारे अहिले केही भन्न चाहन्नँ । तर, यदि मलाई आवश्यक लाग्यो भने म भन्न पछि हट्दिनँ । कहिलेकाहीँ स्थल सैन्य अभियान आवश्यक पर्छ, तर हाम्रो पक्षबाट त्यस्तो अभियान सञ्चालन गर्ने अरू पनि छन् ।’

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि आक्रमण गरेपछि इरानले हाेर्मुजलाई प्रभावकारी रूपमा बन्द गरेको थियो । विश्वभर आपूर्ति हुने करिब २५ प्रतिशत कच्चा तेल र २० प्रतिशत तरलीकृत प्राकृतिक ग्यास यही जलमार्ग हुँदै ढुवानी हुने गर्दछ ।

प्रतिक्रिया दिनुहोस्