धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलाई लिएर सत्ता गठबन्धनभित्रै विवाद चर्किएपछि मुख्यमन्त्री कमलबहादुर शाह राजनीतिक संकटमा परेका छन्। सत्तारुढ नेकपा (एमाले) ले नै बजेटविरुद्ध खर्च कटौतीको प्रस्ताव दर्ता गरेपछि बजेट पारित हुने सम्भावना कमजोर बन्दै गएको हो।
बजेट विवाद समाधानका लागि मुख्यमन्त्री शाह काठमाडौं पुगेका थिए। उनले नेपाली कांग्रेसका सभापति गगनकुमार थापासँग भेटवार्ता गरे पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट हुन सकेन। स्रोतका अनुसार शाहले बजेट निकासका लागि शीर्ष तहमा पहल गरे पनि कुनै ठोस सहमति जुट्न नसकेपछि उनी बुधबार धनगढी फर्किने भएका छन्। स्रोतका अनुसार कांग्रेस सभापति थापाले शाहलाई तत्काल धनगढी फर्किन सुझाव दिँदै एमाले नेतृत्वसँग थप छलफल गरेर समाधान खोज्ने प्रतिबद्धता जनाएका छन्।
प्रदेश सभामा प्रस्तुत बजेट असार मसान्तभित्र पारित गर्नुपर्ने संवैधानिक व्यवस्था भए पनि एमाले र प्रतिपक्षी नेकपाले छुट्टाछुट्टै खर्च कटौतीका प्रस्ताव दर्ता गरेपछि बजेट समयमै पारित हुने सम्भावना क्षीण बनेको छ। बजेट पारित नभए प्रदेश सरकार ‘बजेट होलिडे’ को अवस्थामा पुग्ने जोखिम बढेको छ। एमालेले खर्च कटौतीको प्रस्ताव कुनै पनि हालतमा फिर्ता नलिने अडान कायम राखेको छ। पार्टीको निर्णयअनुसार प्रस्ताव फिर्ता नहुने र वर्तमान स्वरूपको बजेट स्वीकार गर्न नसकिने एमालेको स्पष्ट धारणा रहेको बताइएको छ।
यता प्रतिपक्षी नेकपाले पनि सरकारको बजेट असफल बनाउन सबै राजनीतिक र संसदीय प्रयास गर्ने संकेत दिएको छ। नेकपाले समेत खर्च कटौतीको प्रस्ताव दर्ता गरिसकेकाले सरकारलाई बजेट पारित गराउन थप कठिन हुने देखिएको छ।
बजेट विवाद समाधानका लागि कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने विषयमा छलफल भए पनि सहमति जुट्न सकेन। एमालेले बजेट पुनर्लेखन, पेश्की बजेट ल्याउने तथा सरकारको नेतृत्व परिवर्तनको प्रस्ताव अघि सारेपछि वार्ता निष्कर्षविहीन बनेको स्रोतको दाबी छ। राजनीतिक वृत्तमा अहिले सुदूरपश्चिमबाट एमाले–नेकपाबीच नयाँ सत्ता सहकार्यको सम्भावना बढेको चर्चा सुरु भएको छ। यद्यपि यसबारे कुनै औपचारिक निर्णय भने सार्वजनिक भएको छैन। बजेट विवादले निकास नपाए मुख्यमन्त्री शाहले सरकारको निरन्तरता, विश्वासको मत वा अन्य राजनीतिक विकल्पमध्ये कुनै एक रोज्नुपर्ने अवस्था आउन सक्ने विश्लेषण भइरहेको छ।



प्रतिक्रिया दिनुहोस्