धनगढी – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारमा सहभागी नेकपा (एमाले) का मन्त्रीहरूलाई बर्खास्त गरेका छन् । बजेट विवादका कारण सत्ता साझेदार कांग्रेस र एमालेबीच सम्बन्ध चिसिँदै गएपछि मुख्यमन्त्री शाहले यस्तो निर्णय लिएका हुन् ।
यसअघि मुख्यमन्त्री शाहले सरकारमा बस्ने वा बाहिरिने विषयमा तत्काल स्पष्ट निर्णय गर्न एमाले नेतृत्वलाई आग्रह गरेका थिए। त्यसपछि एमाले आन्तरिक छलफलमा जुटेको थियो भने मुख्यमन्त्री शाह पनि एमालेको समर्थन नपाएपछि अपनाउने रणनीतिबारे परामर्शमा थिए। स्रोतका अनुसार एमालेले सरकारलाई निरन्तर समर्थन नगर्ने संकेत पाएपछि मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई पदमुक्त गरेका हुन् ।
बजेट विवादले बढायो राजनीतिक संकट
विवादको मुख्य कारण आर्थिक वर्ष २०८३/८४ को प्रदेश बजेट बनेको छ। सत्ता साझेदार एमालेले बजेटमा खर्च कटौतीको प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गराएको थियो। प्रतिपक्षी नेकपाले पनि यस्तै प्रस्ताव अघि सारेको छ। मुख्यमन्त्री शाहले खर्च कटौतीको प्रस्ताव फिर्ता लिन आग्रह गरे पनि एमाले त्यसमा सहमत हुन सकेन। असार मसान्तभित्र बजेट पारित गर्नुपर्ने संवैधानिक बाध्यताबीच सत्ता साझेदार दलबीचको मतभेदले प्रदेश सरकार थप दबाबमा परेको थियो। स्रोतका अनुसार बजेट संशोधनका लागि कांग्रेस, एमाले र नेकपाका प्रतिनिधि सम्मिलित कार्यदल गठन गर्ने विषयमा पनि छलफल भएको थियो। तर एमालेले बजेट पुनर्लेखन, पेश्की बजेट ल्याउने तथा सरकारको नेतृत्व परिवर्तनको प्रस्ताव अघि सारेपछि सहमतिको प्रयास असफल भएको बताइएको छ ।
नयाँ सत्ता समीकरणको संकेत
बजेटकै विषयलाई लिएर उत्पन्न संकटपछि सुदूरपश्चिममा एमाले र नेकपाबीच नयाँ सत्ता सहकार्यको सम्भावना बढेको राजनीतिक वृत्तमा चर्चा छ । यद्यपि दुवै दलभित्र कांग्रेसलाई समेत समेटेर सहमतिमै अघि बढ्नुपर्ने धारणा पनि उठिरहेको स्रोतले जनाएको छ ।मुख्यमन्त्री शाहले एमालेका मन्त्रीहरूलाई बर्खास्त गरेसँगै सुदूरपश्चिम प्रदेशको राजनीतिक समीकरण नयाँ मोडमा पुगेको छ भने आगामी सरकार गठन र बजेट पारित प्रक्रिया थप चासोको विषय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्