Skip to content

तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव कांग्रेसले अस्वीकार गर्छ : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका नाममा तीन ठूला दल मिलेर सरकार बनाउने प्रस्तावलाई नेपाली कांग्रेसले अस्वीकार गर्ने स्पष्ट पारेका छन्। उनले यस्तो अभ्यासले प्रदेशसभालाई प्रतिपक्षविहीन बनाउने र जनताले दिएको म्यान्डेटको अपमान हुने बताएका छन्।

आइतबार ललितपुरमा आयोजित सन्त नेता कृष्णप्रसाद भट्टराईको सालिक अनावरण तथा ४४औँ बीपी स्मृति सप्ताहको शुभारम्भ कार्यक्रममा बोल्दै सभापति थापाले सत्ताका लागि अब कांग्रेसले सिद्धान्तमा सम्झौता नगर्ने उद्घोष गरे। उनले विगतमा सत्तालाई प्राथमिकता दिँदा कांग्रेससहित पुराना राजनीतिक दलहरूले गल्ती गरेको स्वीकार गर्दै अब त्यस्तो अभ्यास दोहोरिन नदिने प्रतिबद्धता जनाए। सत्ता नै सबैथोक भन्ने सोचले २०७२ सालयता मुलुकको राजनीति अस्थिर र दिशाहीन बनेको उनको भनाइ थियो।

थापाले बिहान सत्तामा रहेको दल भोलिपल्ट प्रतिपक्षमा पुग्ने र प्रतिपक्षमा रहेको दल अचानक सरकारमा सहभागी हुने प्रवृत्तिले राजनीतिक प्रणालीप्रतिको जनविश्वास कमजोर बनाएको बताए। उनले चुनावअघि एउटा दलसँग गठबन्धन गर्ने र चुनावपछि अर्कोसँग सरकार बनाउने अभ्यासका कारण सरकार र प्रतिपक्षको भूमिका नै अन्योलपूर्ण बनेको उल्लेख गर्दै अब जनादेश, लोकतान्त्रिक मूल्य र राजनीतिक सिद्धान्तका आधारमा अघि बढ्नुपर्नेमा जोड दिए। प्रदेश सरकार गठनबारे विभिन्न प्रस्ताव आए पनि कांग्रेस सत्ता प्राप्तिका लागि मात्र सरकारमा सहभागी नहुने स्पष्ट पार्दै थापाले तीन दल मिलेर प्रदेश सरकार बनाउने प्रस्ताव जनादेशविपरीत भएकाले कांग्रेसले त्यसलाई ठाडै अस्वीकार गरेको बताए। “परिणाम जे आए पनि नेपाली कांग्रेसले सिद्धान्तमा सम्झौता गर्दैन। जनताले दिएको म्यान्डेटको सम्मान गर्दै लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने बाटोमै कांग्रेस अघि बढ्छ,” उनले भने।

प्रतिक्रिया दिनुहोस्