Skip to content

देउवा पक्षले बीपी स्मृति दिवस छुट्टै मनाउने, राष्ट्रिय भेलाको मिति पनि घोषणा गर्ने

काठमाडौं – नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवा पक्षले ४४औँ बीपी स्मृति दिवसको अवसरमा छुट्टै कार्यक्रम आयोजना गर्ने भएको छ। आइतबार काठमाडौंको चुनदेवीस्थित सम्पर्क कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेता मीनबहादुर विश्वकर्माले आगामी साउन ६ गते काठमाडौंको प्रज्ञा भवनमा नेपाली कांग्रेसका संस्थापक नेता तथा प्रथम जननिर्वाचित प्रधानमन्त्री विश्वेश्वरप्रसाद (बीपी) कोइरालाको ४४औँ स्मृति दिवस भव्य रूपमा मनाउने निर्णय गरिएको जानकारी दिए।

उनका अनुसार कार्यक्रम व्यवस्थापनका लागि कांग्रेसका पूर्वउपसभापति प्रकाशमान सिंहको संयोजकत्वमा आयोजक समिति गठन गरिएको छ। विश्वकर्माले यही कार्यक्रममार्फत पार्टीको प्रस्तावित राष्ट्रिय भेलाको मिति, समय र स्थान सार्वजनिक गरिने पनि बताए। उनले कांग्रेसभित्र देखिएको आन्तरिक विवाद तथा वर्तमान राजनीतिक अवस्थाबारे समीक्षा गर्न साउन महिनाभित्र काठमाडौंमा राष्ट्रिय भेला आयोजना गर्ने तयारी भइरहेको जानकारी दिए। देउवा पक्षले छुट्टै रूपमा बीपी स्मृति दिवस मनाउने निर्णयलाई कांग्रेसभित्र देखिएको आन्तरिक शक्ति–सन्तुलन र राजनीतिक गतिविधिसँग जोडेर हेरिएको छ। आगामी राष्ट्रिय भेलाले पार्टीभित्रको राजनीतिक रणनीति र भावी दिशा तय गर्ने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्