Skip to content

‘मास्टर्नी’ गीतप्रति नेशनल प्याब्सन काठमाडौंको आपत्ति, हटाउन र सार्वजनिक माफी माग्न माग

काठमाडौं – राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेशनल प्याब्सन) काठमाडौं जिल्ला कार्यसमितिले हालै सार्वजनिक गरिएको ‘मास्टर्नी’ शीर्षकको गीतले शिक्षक र शिक्षण पेसाको गरिमामाथि आँच पुर्‍याएको भन्दै गम्भीर आपत्ति जनाएको छ । आइतबार सार्वजनिक विज्ञप्ति जारी गर्दै नेशनल प्याब्सन काठमाडौंले गीतको प्रचार–प्रसारका क्रममा सार्वजनिक गरिएका दृश्य, संवाद तथा प्रस्तुतीकरणले विशेषगरी महिला शिक्षक (गुरुआमा) सहित सम्पूर्ण शिक्षक समुदायको सम्मानमा प्रत्यक्ष चोट पुगेको जनाएको हो ।

विज्ञप्तिमा शिक्षकले असल चरित्र, संस्कार, अनुशासन, नैतिक मूल्य र जिम्मेवार नागरिक निर्माणमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको उल्लेख गर्दै यस्ता सामग्रीले समाजमा शिक्षकप्रति नकारात्मक धारणा विकास गराउने र शिक्षण पेसाको प्रतिष्ठामा असर पार्ने बताइएको छ । संस्थाले सिर्जनात्मक स्वतन्त्रताको सम्मान गरिए पनि कुनै पनि सिर्जनाका नाममा सम्मानित पेसा वा व्यक्तिको गरिमामाथि आँच पुर्‍याउने छुट कसैलाई नभएको स्पष्ट गरेको छ । नेशनल प्याब्सन काठमाडौंले ‘मास्टर्नी’ गीतका निर्माता, निर्देशक, कलाकार तथा सम्बन्धित सबै पक्षलाई गीतका आपत्तिजनक शब्द, दृश्य र प्रस्तुतीकरण तत्काल सच्याउन, विवादित अंश हटाउन तथा सम्पूर्ण शिक्षक समुदायसँग सार्वजनिक रूपमा माफी माग्न आग्रह गरेको छ ।

विज्ञप्तिमा यस विषयलाई गम्भीर रूपमा सम्बोधन नगरिए सम्बन्धित निकायसँग समन्वय गरी संस्थागत तथा कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिइएको छ । साथै, शिक्षक, अभिभावक, विद्यार्थी, सञ्चारमाध्यम तथा सबै सरोकारवालालाई शिक्षण पेसाको गरिमा, शिक्षकको सम्मान र नेपाली समाजका उच्च मूल्य–मान्यताको संरक्षणमा ऐक्यबद्ध हुन नेशनल प्याब्सन काठमाडौंले अपिल गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्