Skip to content

भारतमा शिक्षा मन्त्रीको राजीनामा माग्दै विशाल प्रदर्शन, मोदी सरकारविरुद्ध युवाको आक्रोश

काठमाडौं । भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारविरुद्ध लामो समयपछि ठूलो स्तरमा युवा प्रदर्शन भएको छ। शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै हजारौं प्रदर्शनकारी सोमबार संसदतर्फ मार्च गर्दा प्रहरीसँग झडप भएको छ। प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच केही स्थानमा हिंसात्मक झडप भएको बताइएको छ। भीड नियन्त्रण गर्न प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो भने झडपमा दर्जनौं प्रदर्शनकारी घाइते भएका छन्।

प्रदर्शन ककरोच जनता पार्टी (सीजेपी) को आह्वानमा आयोजना गरिएको भए पनि सरकारको नीतिप्रति असन्तुष्ट अन्य युवाहरू पनि आन्दोलनमा सहभागी भएका थिए। आन्दोलनले अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूको समेत ध्यान तानेको छ। अमेरिकी सञ्चारमाध्यम ब्लूमबर्गका अनुसार आन्दोलनका प्रमुख समर्थक ५९ वर्षीय सोनम वाङ्चुकलाई प्रदर्शनस्थलबाट बलपूर्वक हटाइएपछि प्रदर्शनकारीहरूको आक्रोश थप चर्किएको थियो। त्यसपछि संसद परिसर जाने प्रमुख सडकहरूमा प्रदर्शनकारीहरूको ठूलो भीड जम्मा भएको थियो।

प्रदर्शनकारीहरूलाई तितरबितर पार्न प्रहरीले विभिन्न स्थानमा अश्रुग्यास प्रहार गरेको थियो। यसैबीच सीजेपीको प्रतिनिधिमण्डलले सरकारलाई आफ्ना मागहरू औपचारिक रूपमा बुझाएको भए पनि आन्दोलन भने जारी रहेको जनाइएको छ। ब्लूमबर्गका अनुसार प्रदर्शनकारीहरूले शिक्षा मन्त्री धर्मेन्द्र प्रधानको राजीनामासँगै प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वप्रति पनि असन्तुष्टि व्यक्त गरेका थिए। प्रदर्शनका क्रममा मोदी सरकारविरुद्ध नाराबाजी समेत भएको बताइएको छ। यता, संसदभित्र विपक्षी दलहरूले पनि प्रदर्शनबारे छलफलको माग गरेका छन्। यसअघि विद्यार्थी आन्दोलनबाट केही टाढा रहेका विपक्षी नेताहरूले समेत प्रदर्शनकारीहरूको मागप्रति समर्थन जनाएका छन्। भारतको २५ दिनसम्म चल्ने मनसुन अधिवेशनमा विपक्षी दलहरूले महँगी, बेरोजगारी तथा अन्य समसामयिक विषयमा सरकारलाई दबाब दिने तयारी गरेका छन्।

प्रतिक्रिया दिनुहोस्