कान्ता गिरी , जापान – प्रवासी नेपाली सम्पर्क विभाग जापान, चुबु क्षेत्रीय समितिको आयोजनामा जापानको नागोयास्थित दियालो रेस्टुरेन्ट, चूरूमाईमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का केन्द्रीय समिति सदस्य तथा प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए । अन्तरक्रियालाई सम्बोधन गर्दै सांसद सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीले नयाँ दृष्टिकोण र जनमुखी सोचका साथ मुलुकमा सुशासन, पारदर्शिता तथा भ्रष्टाचार नियन्त्रणका क्षेत्रमा निरन्तर काम गरिरहेको बताए । उनले सामाजिक सञ्जालमार्फत सरकार र राजनीतिक दलविरुद्ध फैलाइने झुटा तथा भ्रामक सूचनाप्रति सचेत रहन आग्रह गर्दै तथ्य र सत्यका आधारमा मात्रै धारणा बनाउन सबैलाई अनुरोध गरे ।
उनले विदेशमा रहेका नेपालीहरूको हक, हित र सरोकारका विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी सधैं संवेदनशील र प्रतिबद्ध रहेको पनि उल्लेख गरे । कार्यक्रममा सहभागीहरूले वैदेशिक रोजगारी, गैरआवासीय नेपालीहरूको समस्या, नेपालको समसामयिक राजनीति तथा प्रवासी नेपालीसँग सम्बन्धित विभिन्न विषयमा आफ्ना जिज्ञासा राखेका थिए । त्यसक्रममा सांसद सुनारले सहभागीहरूको प्रश्नको जवाफ दिँदै प्रवासी नेपालीका मुद्दालाई नीति निर्माण तहसम्म पुर्याउन आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रवासी नेपाली सम्पर्क विभाग जापान, चुबु क्षेत्रीय समितिका अध्यक्ष विकास लम्सालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जापानका विभिन्न क्षेत्रमा रहेका नेपाली समुदायका प्रतिनिधि, बुद्धिजीवी, व्यवसायी तथा सर्वसाधारण नेपालीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।
आयोजकका अनुसार उक्त अन्तरक्रियाले प्रवासी नेपाली र नेपालको राजनीतिक नेतृत्वबीच विचार आदानप्रदान, आपसी सहकार्य तथा सम्बन्धलाई थप सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्याएको सहभागीहरूले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्