Skip to content

धनगढीमा आजदेखि डा. गोविन्द केसीको अनशन, गेटा मेडिकल विश्वविद्यालयको विषयलाई लिएर स्थानीयस्तरमा विरोध

धनगढी — वरिष्ठ चिकित्सक डा. गोविन्द केसी आज (बिहीबार) दिउँसो ३ बजेदेखि धनगढीमा अनशन बस्ने भएका छन्। चिकित्सा शिक्षामा सुधारको मागसहित उनले धनगढी–१ स्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन सुरु गर्ने तयारी गरेका हुन्।

डा. केसीका सहयोगी डा. अमृत जैशीका अनुसार अनशन सुरु गर्नु अघि पत्रकार सम्मेलनमार्फत आन्दोलनका उद्देश्यबारे जानकारी गराइनेछ। यसपटकको अनशन भने सुदूरपश्चिममा विवादको विषय बनेको छ। सरकारले शहीद दशरथ चन्द मेडिकल विश्वविद्यालय (गेटा मेडिकल विश्वविद्यालय) सञ्चालनको प्रक्रिया अघि बढाइरहेका बेला डा. केसीले त्यससम्बन्धी ऐन हतारमा ल्याइएको र यसमा स्वार्थ समूहको प्रभाव रहेको आरोप लगाएका छन्।

डा. केसीले मेडिकल विश्वविद्यालय स्थापना गर्नुपर्ने भए त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) वा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई नै मेडिकल विश्वविद्यालयका रूपमा विकास गर्नुपर्ने धारणा सार्वजनिक गरेका छन्। साथै उनले हाल नियुक्त पदाधिकारीहरूको राजीनामासमेत माग गरेका छन्। यता, सुदूरपश्चिमका विभिन्न स्थानीयवासी र सामाजिक सञ्जाल प्रयोगकर्ताले भने गेटामा मेडिकल विश्वविद्यालय सञ्चालनको प्रक्रिया रोक्ने प्रयास स्वीकार्य नभएको भन्दै असन्तुष्टि जनाएका छन्। फेसबुक लगायत सामाजिक सञ्जालमा डा. केसीको आन्दोलनको पक्ष र विपक्षमा व्यापक बहस भइरहेको छ।

केही प्रयोगकर्ताले गेटा मेडिकल विश्वविद्यालय प्रदेशका लागि महत्त्वपूर्ण परियोजना भएकाले यसको काममा अवरोध हुन नहुने बताएका छन् भने केहीले डा. केसीको आन्दोलनको औचित्यमाथि प्रश्न उठाएका छन्। डा. केसीले विगतदेखि नै चिकित्सा शिक्षा सुधार, पारदर्शिता र स्वास्थ्य क्षेत्रको नीतिगत सुधारका माग राख्दै पटक–पटक अनशन गर्दै आएका छन्। यसपटकको अनशनले गेटा मेडिकल विश्वविद्यालयको विषयलाई लिएर थप बहस सिर्जना गर्ने देखिएको छ।

प्रतिक्रिया दिनुहोस्