काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३–२४ गते भएको जेनजी आन्दोलनलाई नेपालको इतिहासकै सबैभन्दा ध्वंसात्मक आन्दोलनको संज्ञा दिएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रममा सम्बोधन गर्दै ओलीले उक्त आन्दोलनका क्रममा भएको हिंसा, आगजनी र तोडफोडको कडा आलोचना गर्दै यसलाई लोकतान्त्रिक अभ्यासभन्दा बाहिरको गतिविधि भएको बताए।
उनले विभिन्न देशमा चुनाव भए पनि लोकतन्त्र नहुने उदाहरण दिँदै नेपालमा पनि वैधानिक सरकारविरुद्ध हिंसात्मक गतिविधि भएको आरोप लगाए। “भदौ २३/२४ गते जुन खालको मार्ने–मराउने, आगजनी गराउने र नेपालको इतिहासमै कल्पना गर्न नसकिने घटना घटाइयो,” ओलीले भने।
ओलीले तत्कालीन माओवादी आन्दोलनसँग तुलना गर्दै माओवादीले हिंसात्मक बाटो अपनाए पनि समाजलाई भयमा राख्ने किसिमका गतिविधि नगरेको दाबी गरे। उनका अनुसार जेनजी आन्दोलनमा भने सत्ता कब्जाको उद्देश्यसहित अझ बढी हिंसात्मक शैली अपनाइएको थियो। उनले जेनजी आन्दोलनपछि वैधानिक सरकारविरुद्ध अवैध र असंवैधानिक गतिविधि भएको आरोप पनि लगाए।“वैधानिक सरकारलाई अवैध आतंकपूर्ण अपराधी गतिविधिबाट हटाइयो। संविधानले निषेध गरेको काम पूर्वप्रधानन्यायाधीशको अगुवाइमा गरियो। अवैध सिफारिसका आधारमा जननिर्वाचित संसद् असंवैधानिक रूपमा विघटन गरियो,” उनले भने। ओलीले वर्तमान राजनीतिक अवस्थाप्रति पनि असन्तुष्टि व्यक्त गर्दै नेपालमा लोकतन्त्र नै संकटमा परेको दाबी गरे। “लोकतन्त्र अहिले खतरामा छ। लोकतन्त्र अपहरण भएको छ, अब लोकतन्त्रको पुनःस्थापना आवश्यक छ,” उनले भने।



प्रतिक्रिया दिनुहोस्