काठमाडौं – नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले आलोचना वा प्रतिशोधको राजनीतिबाट होइन, सकारात्मक सोच र स्पष्ट लक्ष्यका साथ अघि बढेर मात्र देश र पार्टीले गन्तव्य हासिल गर्न सक्ने बताएका छन्। ४४औँ बीपी स्मृति दिवसका अवसरमा नेपाली कांग्रेसले बिहीबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै शर्माले हरेक आलोचनाको प्रतिवादमै अल्झिँदा मूल उद्देश्य ओझेलमा पर्न सक्ने भन्दै दूरदृष्टिसहितको राजनीति आवश्यक रहेको बताए।
उनले बीपी कोइरालाको विचार, लोकतान्त्रिक संस्कार र दर्शनलाई २१औँ शताब्दीका युवाको भावना र आकांक्षासँग जोड्दै समुन्नत नेपालको अभियान अघि बढाउनुपर्नेमा जोड दिए। “कसैको आलोचना गरेर वा ढुङ्गा हानेर गन्तव्यमा पुगिँदैन। बीपीको विचारलाई आजका युवाको सोचसँग एकाकार गर्दै समुन्नतिको यात्रा तय गर्नुपर्छ,” शर्माले भने। शर्माले नेपाली कांग्रेसका लागि सत्ता र राजनीतिभन्दा पनि सामाजिक रूपान्तरणका मुद्दा उत्तिकै महत्वपूर्ण रहेको उल्लेख गरे। बालश्रम उन्मूलन, गुणस्तरीय शिक्षा र दक्ष शिक्षक उत्पादनजस्ता विषयलाई पार्टीको प्राथमिकतामा राख्नुपर्ने उनको भनाइ थियो। उनले परिवर्तनका लागि आन्दोलनमा योगदान दिने योद्धासँगै सुशासन र सामाजिक रूपान्तरणका लागि सक्षम शिक्षक, दक्ष जनशक्ति र नयाँ सोचको आवश्यकता रहेको बताए।
शर्माले बीपी कोइरालाको सिद्धान्त र आदर्शलाई व्यवहारमा उतार्दै कांग्रेसलाई नयाँ ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। उनले सभापति गगनकुमार थापाको नेतृत्वमा सिङ्गो टोली नयाँ सोच, नयाँ शैली र नयाँ संकल्पका साथ पार्टीलाई अगाडि बढाउन लागिपरेको बताए।



प्रतिक्रिया दिनुहोस्